म्याग्दी, १९ जेठ ।
अन्नपूर्ण गाउँ कार्यपालिका गठन भएको छ । बिहीबार भएको गाउँ कार्यपालिका गठनको निर्वाचन प्रक्रियामा काँग्रेस–माओवादी प्यानलका उम्मेदवारहरू विजयी भएका हुन् ।
दुई दलित वा अल्पसङ्ख्यक र चारजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा काँग्रेस र माओवादीले तालमेल गरेका थिए । निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट नेपाली काँग्रेसका आत्मा तुलाचन र नेकपा (माओवादी केन्द्र)का थमबहादुर विक रहनुभएको छ ।
त्यसैगरी, महिला सदस्यमा नेपाली काँग्रेसकी दिर्जु रञ्जिता, पवित्रा खड्का र माओवादी केन्द्रका टेकमायाँ तिलिजा र विष्णुकुमारी दमै विजयी हुनुभएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो ।
आठवटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा ४२ जना सदस्य रहेका थिए । उक्त गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित चारवटा वडा काँग्रेसले तीनवटा वडा एमाले र एउटा वडामा माओवादी केन्द्र विजयी भएका थिए ।