काठमाडौँ, १९ जेठ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आगामी हप्तादेखि उपत्यकाभरी नै जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई कारबाही गर्ने भएको छ ।
यही जेठ १६ गतेदेखि सीमित ठाउँमा जथाभावी रुपमा बाटो काट्ने यात्रुलाई रु २०० वा तीन घन्टा नियन्त्रणमा लिएको महाशाखाले आगामी हप्तादेखि उपत्यकाभर कारबाही गर्ने भएको हो ।
महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले पूर्वाधारको अभावका कारण अहिले करिब ३५ स्थानमा मात्र कारबाही गरे पनि आगामी हप्तासम्म पूर्वाधार निर्माण गरेर उपत्यकाभर कारबाही गर्न लागेको बताउनुभयो ।
पूर्वाधार नभएको ठाउँमा काठमाडौँ महानगरपालिका र सडक विभागसँग सहकार्य गरेर जेब्रा क्रसिङ निर्माण गर्न लगाएका जानकारी दिदै उहाँले जेब्रा क्रसिङ सञ्चालन हुने बित्तिकै जेब्रा क्रसिङको प्रयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउनु भयो ।
मङ्गलबारबाट पैदलयात्रु सुरक्षा अभियान कडाइका साथ सञ्चालन गरेको महाशाखाले हालसम्म १० हजार ८६१ जनालाई कारबाही गरिसकेको छ । कारबाहीमा परेकामध्ये छ हजार ६१८ जनाबाट रु १३ लाख २३ हजार ६०० राजस्व सङ्कलन गरेको तथा रु २०० नहुने चार हजार २४३ पैदलयात्रुलाई सचेतना कक्षा लिएको महाशाखाले जनाएको छ ।
उपत्यकामा हरेक वर्ष ४० प्रतिशतभन्दा बढी पैदलयात्रु सडक दुर्घटनाबाट मृत्यु भएको भन्दै महाशाखाले यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ को अधिकारलाई प्रयोग गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।