काठमाडौँ, १५ जेठ । सरकारले पोखरासहित तीन स्थानमा विमानस्थल निर्माणका लागि झण्डै १४ अर्ब बजेट छुट्याएको छ ।
संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले निगजढ अन्तराष्ट्रिय विमानस्थलका लागि आगामी आर्थिक वर्ष बोलपत्र आहृवान गर्ने ,लुम्बिनी विमानस्थल ०७५ सालमा निर्माण सक्ने र पोखरा अन्तराष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षबाट सुरु गर्ने बताए । यसका लागि १३ अर्ब ७२ करोड बजेट छुट्याइएको अर्थमन्त्रीले संसदलाई जानकारी दिए ।
यस्तै काठमाडौं-निजगढ द्रुतमार्गका लागि सरकारले १० अर्ब १४ करोड रकम विनियोजन गरेको छ । यो निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ र आइतबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसको शिल्यान्यास गरेका थिए ।
उता ,भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब १८ करोड रकम विनियोजन गरिएको छ ।
अर्थमन्त्री महराले पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट खर्च गर्ने गरी पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब १८ करोड रकम विनियोजन गरिएको बताए ।
सरकारले स्थानीय तहलाई पनि पुनर्निर्माणमा सहभागी गराउने बताएको छ भने एकीकृत वस्तीहरु बनाउने बताएको छ ।