उदयपुर सिमेन्ट उद्योगले गर्यो दश वर्षयताकै बढी सिमेन्ट उत्पादन

उदयपुर सिमेन्ट उद्योगले गर्यो दश वर्षयताकै बढी सिमेन्ट उत्पादन

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

उदयपुर, ९ जेठ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले चालु आवमा १० वर्षयताकै बढी सिमेन्ट उत्पादन गरेको छ ।

सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योग बेलाबेलामा राजनीतिक उतारचढावका कारण बन्द हुने गरेको भएपनि चालु आव २०७३÷०७४ मा दशकयताकै बढी सिमेन्ट उत्पादन गर्न सफल भएको छ । चालु आवको दुई महिना बाँकी छँदै ८५ हजार मेट्रिक टन क्लिङ्कर (सिमेन्ट) उत्पादन गरिसकेको छ ।

सिमेन्ट उत्पादन गर्नका लागि भुटान र भारतबाट कोइला आयत गर्दै आएको उद्योगका क्लिङ्कर उत्पादन प्रमुख सञ्जयकुमार लालले जानकारी दिनुभयो । करिब ८५ प्रतिशत चुनढुङ्गा, १४ प्रतिशत रातोमाटो र एक प्रतिशत फलाम मिलाएर क्लिङ्कर उत्पादन हुन्छ ।

आगामी आवमा एक लाख ५० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने गरी उद्योगले काम गरिरहेको लालको भनाइ छ । सिमेन्ट उत्पादनका लागि चाहिने चुनढुङ्गा १८ किलोमिटर टाढा रहेको सिन्धाली चुनढुङ्गा खानीबाट ल्याउने गरिएको छ ।

विसं २०४४ मा दर्ता भई रु छ अर्ब ३० करोड लागतमा निर्माण भएको उक्त कारखाना स्थापनाका लागि जापान सरकारले आर्थिक र प्राविधिक सहयोग गरेको थियो । विसं २०४९ मङ्सिरबाट उत्पादन थालेको सो उद्योगले सुरुका दिनमा प्रतिदिन ८०० टन क्लिङ्कर उत्पादन गर्दै आएको थियो ।

उद्योगका महाप्रवन्धक सुरेन्द्र पौडेल मन्त्रालयको नीतिगत सहयोग र उद्योगका कर्मचारीको कार्यदक्षताका कारण पछिल्लो समय सिमेन्ट उत्पादन बढेको बताउनुहुन्छ । “विगतमा मासिक रु ३० करोड घाटा व्यहोर्दै आएका थियौँ, चालु आवमा रु १७ करोड आम्दानी गरिसकेका छौँ ।”

ढुवानीलगायत समस्याले अरु सिमेन्टको तुलनामा उदयपुर सिमेन्ट केही महँगो परेको पौडेलको भनाइ छ । उहाँ भन्नुहुन्छ – “थोरै महँगो भए पनि हाम्रो सिमेन्ट बिक्रीमा समस्या छैन ।” उदयपुर सिमेन्ट दुई सयवटा डिलरबाट काठमाडौँ र तराईका विभिन्न बजारमा दैनिक रुपमा बिक्री वितरण भइरहेको छ ।

विद्युत्भारका कारण उद्योगले लक्ष्यअनुसार उत्पादन गर्न सकेको छैन । अखिल नेपाल औद्योगिक मजदुर सङ्घका अध्यक्ष चक्रबहादुर उद्योग क्षेत्रमा काम गर्ने श्रमिकलाई औषधि उपचार, उपदान, पदोन्नतिलगायतका समस्या भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “श्रमिकका कारण उद्योग अहिलेको स्थितिसम्म आएको हो त्यसैले सञ्चालक समितिले हाम्रा मागको सुनुवाइ गर्नुपर्छ ।”

सोह्र हजार टन उत्पादन क्षमता रहेको उद्योगले अहिले प्रतिदिन ६०० देखि ७०० टन अर्थात् १२ हजारदेखि १४ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । “१० मिनेट बत्ती जाँदा रु चार लाख बराबरको घाटा हुन्छ,” उहाँले भन्नुभयो । वैशाख महिनामा मात्र ८० पटक बत्ती जाँदा रु तीन करोडको घाटा भएको छ ।

जापान सरकारले वनाएको मेसिन मर्मतका लागि रु १५ करोडको बोलपत्र आह्वान गरेर उद्योगले काम अगाडि बढाइसकेको छ । नेपालको पुरानो सिमेन्ट उद्योगका रुपमा रहेको उक्त उद्योगमा अहिले ४२५ कर्मचारी काम गर्दै आएका छन् ।

उद्योगलाई सहज ढङ्गले सञ्चालन गरी कसरी जनतालाई फाइदा दिन सकिन्छ भन्ने हिसाबले काम गरिरहेको उद्योग सञ्चालक समितिका अध्यक्ष अक्रुर खड्का बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “उद्योगलाई सहज ढङ्गले चलाउन लागिपरेका छौँ फाइदाभन्दा पनि जनताको सेवा नै हाम्रो मुख्य लक्ष्य हो ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी