काठमाडौं, जेठ ८ । व्यवस्थापिका संसद्को वजेट अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार दिउँसो १ बजे संसद् बैठक बस्न लागेको हो ।
बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन सुरु सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेकाे छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले नीति तथा कार्यक्रमका प्राथमिकताका बारेमा जानकारी गराउने सम्भावना रहेको बताइएको छ ।तर साे विषयको टुंगो भने लागिसकेको छैन । सरकारले आगामी बिहीबार नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ ।
सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गर्नेछिन् । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले जेठ १५ गते बजेट पेश गर्ने तयारी पनि गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटको आकार १२ खर्बभन्दा माथि पुग्ने भएको छ । सीमाभन्दा बढी हुने गरी आएका माग सम्बोधन गर्नुका साथै ठूलो रकम स्थानीय तहलाई दिनुपर्ने भएपछि बजेटको सीमा संशोधन गर्ने तयारी भएको छ ।
यसअघि योजना आयोगले यस वर्षको बजेटका लागि ११ खर्ब ५६ अर्ब रुपैयाँको सीमा दिएको थियो । ‘सीमा ५० अर्ब थप्न योजना आयोगसँग मौखिक सहमति भएको छ’, अर्थको बजेट महाशाखासम्बद्ध स्रोतले भन्यो । ५० अर्ब सीमा थपिए बजेटको आकार १२ खर्ब ६ अर्ब रुपैयाँ पुग्छ । सरकार जेठ १५ गते पूर्ण आकारको बजेट ल्याउने तयारीमा लागेकाे हाे ।