काठमाणडाै ,६ जेठ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (सेयर ब्रोकर) कम्पनीलाई न्यूनतम चुक्ता पुँजी १० गुणा बढाउन निर्देशन दिएको छ । बोर्डको निर्देशनसँगै सेयर दलालले चुक्ता पुँजी कम्तीमा २ करोड रुपैयाँ पुर्याउनुपर्ने भएको छ । अहिले ब्रोकरको न्यूनतम चुक्ता पुँजी २० लाख रुपैयाँ मात्रै छ ।
बोर्डले हालै मात्र धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बोर्डले सेयर ब्रोकरको शाखा विस्तार कार्यलाई थप सहज बनाउन तथा यसमा रहने जोखिमसमेतलाई मध्यनजर गर्दै त्यसको व्यवस्थापनका लागि पुँजी वृद्धि गरेको जनाएको छ । बोर्डका प्रवक्ता एवं कार्यकारी निर्देशक नीरज गिरीद्वारा जारी वक्तव्यमा पुँजी, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनलगायतका विषयमा आवश्यक व्यवस्था गरी नेपाल सरकारको स्वीकृतिमा नियमावली संशोधन गरिएको उल्लेख छ ।