चितवन ,बैशाख २६ ।
नेपाल कम्युनिष्ट पार्टीका ब्युरो इन्चार्जसहित २ जनालाई प्रहरीले आज चितवनबाट गिरफ्तार गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं. ४ शिवघाटबाट आज पुरन राई र शंकर गुरुङलाई पक्राउ गरिएको चिवतन प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ना ३ प ३०६५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।
राई कम्युनिस्ट पार्टीका ट्रेड युनियन ब्युरो इन्चार्ज हुन् भने गुरुङ इलाका सदस्य रहेको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले चितवनबाटै कम्युनिस्ट पार्टीका २१ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो पार्टीका केन्द्रीय सदस्य एवं अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, केन्द्रीय सदस्य अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष विष्णु कोइराला लगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन्।