उपत्यकाका चारै दिशामा चार नयाँ स्मार्ट शहर निर्माणको योजना

उपत्यकाका चारै दिशामा चार नयाँ स्मार्ट शहर निर्माणको योजना

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, बैशाख २६ ।
उपत्यका भौतिक विकास समितिले उपत्यकामा रहेको चार दिशामा चार नयाँ स्मार्ट सहर निर्माण गर्ने योजना बनाएको छ । यस निर्णयलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको छ ।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको अध्यक्षतामा आइतबार बसेको समितिको बैठकले उपत्यकाभित्र नयाँ नगरको भौतिक विकास योजना कार्यान्वयन गर्न चारै दिशामा भौतिक परिवर्तन र जग्गा टुक्राउन नपाउने रोक लगाउने निर्णय गरेको छ । यस्तो रोक तीन वर्षका लागि लगाइएको सहरी विकास मन्त्रालयका प्रवक्ता रमेशप्रसाद सिंहले जानकारी दिएका छन् ।

बैठकले काठमाडौंंको पूर्व–उत्तरमा करिब एक लाख रोपनी क्षेत्रफलमा नयाँ सहरका लागि भौतिक पूर्वाधार विकास तथा व्यवस्था गर्ने निर्णय गरेको छ । योजनाअनुसार पूर्वमा भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भञ्ज्याङसम्म पर्छ भने पश्चिममा जोरपाटी किक्रेट स्टेडियम, मूलपानी गोठाटार हुँदै मनोहरा पुल, भक्तपुर जाने पुरानो बाटोलाई समेट्ने गरी योजना बनाइएको छ । त्यस्तै उत्तरमा साँखु र साँखु जाने मूल सडक तथा दक्षिणमा भक्तपुर पुरानो बाटोमा पर्ने हाल भएका आयोजना बाहेकका क्षेत्रहरू पर्ने बताइएको छ । ती जग्गा एकीकरण आयोजनाको लागत प्रतिहेक्टर दुई करोड रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । उक्त आयोजनाबाट १० लाख जनता लाभान्वित हुने र १० वर्ष समय लाग्ने अनुमान समितिको छ ।

त्यसका लागि सार्वजनिक क्षेत्रबाट एक खर्ब रुपियाँ र निजी क्षेत्रबाट चार खर्ब रुपियाँ पाँच वर्षमा लगानी हुने प्रारम्भिक अनुमान छ । बैठकले जग्गा एकीकरणको माध्यमबाट निजी जग्गाधनी समेतको संलग्नतामा सहरको संरचना बनाइने मन्त्रालयले जनाएको छ । यसका लागि अन्र्तराष्ट्रिय स्टेट अफ आर्ट सहर निर्माण गर्न सम्बन्धित विज्ञको परामर्श लिइने निर्णय पनि बैठकले गरेको प्रवक्ता सिंहले बताए ।

त्यस्तै काठमाडौंको पूर्वदक्षिणमा कटुन्जे, गुण्डु, दधिकोट, सिरुटार, बालकोटभित्रको जग्गा, पूर्वमा अरनिको राजर्मागका सूर्यविनायक मन्दिरभन्दा तलपट्टिका जग्गा, पश्चिममा खहरे खोला, बालकोट बिरुवा सडक, पानी ट्याङ्की बालकोट अमरनगर हुँदै थिमि र उत्तरमा अरनिको राजमार्गको सीमा क्षेत्रलाई समेटी योजना अगाडि सारिएको छ ।

समितिले प्रस्ताव गरेको दक्षिण पश्चिम दिशाको नगरका लागि साबिकको खोकना–१ देखि ८ वडा, बुङ्मतीको १ नम्बर बडाको भैँसेपाटी, छम्पी जाने मुख्य बाटोबाट बस्ती तर्फ २, ३, ४, ५ र ६ नम्बर वडा र गाविसका सबै जग्गालाई समेट्ने समितिको योजना रहेको छ ।

उक्त दिशामा पूर्वको छयासीकोटदेखि साबिक सैँबु गाविसको सिमाना हुँदै फर्सिडोल, बागमती नदीको झोलु्ङे पुलसम्म, पश्चिममा बाग्मती नदी सिमाना, उत्तरमा सैँबुको सिमानालाई समेटेर नयाँ नगरको भौतिक विकास योजना तर्जुमा गरिने योजना बनाइएको गोरखापत्रमा खबर छ ।

समितिको बैठकले उत्तर दिशामा पनि दश हजार रोपनी क्षेत्रफलमा नयाँ नगर निर्माणका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरिने निर्णय गरेको छ । उक्त दिशाका लागि पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपास, पश्चिममा बाइपास जाने मूलसडक, उत्तरमा मालुङ हुँदै काभ्रेस्थलीलाई समेटेको छ । त्यस्तै दक्षिणमा ग्रीनल्यान्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मूल सडक पुलसम्मका क्षेत्रफललाई लिइने योजना समितिले बनाएको छ । त्यसका लागि १० अर्ब रुपियाँ सार्वजनिक क्षेत्रबाट र ४० अर्ब रुपियाँ निजी क्षेत्रबाट पाँच वर्ष्भित्र लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ । यसमध्ये पूर्व उत्तरको नयाँ नगर पहिलो प्राथमिकतामा रहेकोले तत्काल आवश्यक कार्य अगाडि बढाउन मन्त्री केसीले निर्देशन दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ