आर्थिक–सामाजिक रुपान्तरणमा सहयोग पुग्ने आयोजनामा मद्दत गर्न आग्रह

आर्थिक–सामाजिक रुपान्तरणमा सहयोग पुग्ने आयोजनामा मद्दत गर्न आग्रह

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ , २४ वैशाख । नेपालले आफ्नो सामाजिक–आर्थिक रुपान्तरणमा मद्दत पुग्ने ठूला र परिणाम देखिने परियोजनामा सहयोग गर्न एसियाली विकास बैंक (एडिबी) सँग आग्रह गरेको छ ।

एडिबीको ५०औँ वार्षिक बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बैंकका अध्यक्ष ताकेहिको नाकाओसँग आज बिहान भएको भेटवार्तामा त्यस्तो आग्रह गर्नुभएको हो ।

कृषिको आधुनिकीकरण, जलविद्युत् उत्पादन र प्रसारण, यातायात सञ्जाल विस्तार, पर्यटन तथा सहरी विकास पूर्वाधारका ठूला आयोजनामा लगानी वृद्धिलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले सरकारका ती प्राथमिकता कार्यान्वयनमा एडिबीको थप सहयोग अपरिहार्य हुने बताउनुभयो ।

एसियाली विकास कोष (एडिएफ) को काठमाडौँमा सम्पन्न १२ औँ बैठकमा अध्यक्ष नाकाओले बैंकबाट नेपाललाई वार्षिक रुपमा प्रदान हुँदै आएको ३० करोड अमेरिकी डलरलाई बढाएर ५० करोड अमेरिकी डलर पु¥याउने घोषणाको स्मरण गराउँदै त्यसको कार्यान्वयनका निम्ति अनुरोध गर्नुभयो ।

साथै उहाँले एडिबीबाट नेपाललाई प्राप्त सहयोग तथा बैंकको अगुवाइमा सञ्चालित विकास–निर्माणका आयोजना कार्यान्वयनमा भएको उत्साहजनक प्रगति, आयोजनाको ठेक्कापट्टा तथा परिचालन भएको रकममा सफलता, बैंकबाट प्राप्त सहायताको उपयोगलाई थप प्रभावकारी तुल्याउन नेपाल सरकार तथा सम्बन्धित निकायबाट भइरहेका विशेष प्रयास, आयोजनाको पूर्वतयारीमा जोड दिनाका साथै बैंक र कार्यान्वयन एकाइसँग समन्वयमा भएको वृद्धिबारे जानकारी दिनुभयो ।

एक महिनाअघिदेखि एडिबीको नेपाल कार्यालय देशीय निर्देशकविहीन हुँदा त्यसले नेपालमा सञ्चालित आयोजनाको कार्यान्वयनलाई प्रभाव पारेकाले शीघ्र नियुक्ति गरी कार्यक्षेत्रमा पठाउन पनि उपप्रधानमन्त्री महराले आग्रह गर्नुभयो ।

“एडिबीको सहयोगमा सञ्चालित आयोजनामध्ये लामो समयदेखि बैंक तथा नेपाल सरकारको प्रतिष्ठाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना यही अक्टोबर(बडादसैँतिर)मा सम्पन्न गर्ने गरी काम भइरहेको छ, यो आयोजना सम्पन्न हुनु नेपाली जनता र बैंकका लागि गौरव र गर्वको विषय हो”, बैंकका तर्फबाट नेपाली जनताको खुसीमा सहभागी हुन अध्यक्ष नाकाओलाई निमन्त्रणा गर्दै उहाँले भन्नुभयो ।

मेलम्चीको पानी काठमाडौँवासीका धारामा झरेको खुसियालीमा आयोजना हुने समारोहमा एडिबी अध्यक्षको सहभागिताको नेपाल सरकारले अपेक्षा गरेको मन्त्री महराले बताउनुभयो । यस वर्ष नेपालको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहने प्रक्षेपण सुनाउँदै उहाँले यो वृद्धिदर २५ वर्षयताकै उच्चतम भएको बताउनुभयो ।

भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा प्रभावित समुदायको जीविकोपार्जन एवम् पुनःस्थापनासम्बन्धी काम तदारुकताका साथ भइरहेको, विद्युत् आपूर्तिमा सुधार आएको तथा मनसुन अनुकूल रहेकाले कृषि उत्पादनमा भएको वृद्धिले नेपालको वृद्धिदर बढाएको उहाँको कथन थियो ।

बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहको वृद्धिदरमा आएको कमीसँगै चालु खाता तथा शोधनान्तर स्थितिमा देखिएको चापलाई गम्भीर चिन्ताका रुपमा प्रस्तुत गर्दै अर्थमन्त्री महराले अन्य समष्टिगत आर्थिक परिसूचक भने सकारात्मक रहेको बताउनुभयो ।

नेपालको संविधानअनुरुप राज्यको पुनःसंरचनाको काम अघि बढिरहेको तथा सङ्घीयतालाई संस्थागत गर्ने क्रममा यही वैशाख ३१ गते पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुन लागेको जानकारी दिँदै उहाँले उक्त निर्वाचनले नेपालको आर्थिक विकासका कार्यसूची र प्रतिफललाई तल्लो तहसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल र नेपालीको विश्वास सुनाउनुभयो ।

नयाँ संविधान जारी भएपछि नेपालको ध्यान आर्थिक एवम् सामाजिक विकासमा केन्द्रित भएको बताउँदै उहाँले दिगो विकासका लक्ष्य हासिल गरी सन् २०३०(विसं ८६तिर) सम्ममा मध्यम आयस्तरको राष्ट्र बनाउने नेपालको लक्ष्य प्राप्तिमा थप सहयोग गर्न आग्रह गर्नुभयो ।

एडिबीले पाँच दशकमा नेपालको विकास प्रयासमा गरेको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै उहाँले अध्यक्ष नाकाओको नेतृत्वमा नेपाल र एडिबीबीचको सम्बन्ध अझ सुदृढ एवम् सबल बन्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले एसिया–प्रशान्त क्षेत्रको सामाजिक एवम् आर्थिक विकासका साथै पूर्वाधार निर्माणमा बैंकले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।

नेपालको भौतिक पूर्वाधार विकास, आर्थिक समृद्धि, व्यापार सहजीकरण, भन्सार प्रणालीको अत्याधुनिकीकरण, आयआर्जनका कार्यक्रम तथा परियोजनामा लगानी, प्राविधिक सहयोगलगायत नेपालको विकासका आवश्यकता र नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष नाकाओले व्यक्त गर्नुभयो ।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोगका माध्यमबाट पनि नेपाललाई आर्थिक एकीकरणको दिशामा बैंकले अग्रसर गराएको बताउँदै एसियाली विकास कोषबाट सहायता बढाउने, नेपाल निर्देशकको शीघ्र नियुक्ति गर्ने तथा सम्भव भएसम्म मेलम्ची खानेपानी आयोजना पूरा भएका बेला नेपाल भ्रमण गर्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी