झापा, बैशाख २३।
नेपालमा आम्दानीको भरपर्दो श्रोत नभएको भन्दै विदेशी भूमिमा आफ्नो श्रम र सीप खर्चने युवाको कमी छैन । रोजगारका लागि दैनिकजसो विदेश जानेको सङ्ख्या बढ्दै गएको छ ।
विदेशमा श्रम गरेर आर्जन गरेको रकमले स्वदेशमै उद्यमी बन्ने युवा अहिले बढ्दै गएका छन् । विदेशबाट फर्किएपछि कसैले उद्योग, कसैले व्यापार त कसैले कृषिलाई आफ्नो जीविकोपार्जनको माध्यम बनाएका छन् । त्यसैबाट उनीहरू नाम र दाम कमाउन सफल भएका छन् ।
विदेशको आम्दानीलाई स्वदेशमा लगानी गरेर कमल गाउँपालिका–३ तोपगाछीका रितु भण्डारी बङ्गुरपालनको माध्यमबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।उनी वि.सं २०५३ मा १७ वर्षको उमेरमा श्रम गर्न कतार गएका थिए । करिब २७ महिना कतारको बसाई पछि उनी स्वदेशमै फकिएका थिए ।
कतारमा सोचेअनुसारको आम्दानी नभएपछि उनी पुनः मलेसिया गएका थिए ।मलेसियाबाट फर्केपछि बङ्गुरपालन उनले व्यवसाय सुरु गरे । भण्डारीले रु. २५ लाखको लगानीमा लक्ष्मी बङ्गुर फार्म सञ्चालन गरेका छन् ।
उनले ४० वटा माउ बङ्गुर खरीद गरेर पाठापाठी उत्पादन सुरु गरेका थिए । बङ्गुरपालनबाट छोटो समयमा मनग्य आम्दानी लिन सकिन्छ भन्ने बुझेर नै व्यवसाय थालेको उनले बताए ।
एक पटकमा एउटा माउ बङ्गुरले १६/१७ वटा पाठापाठी पाउने गरेको छ । भण्डारीले अहिले मासिक चार लाख बराबरको पाठापाठी बेच्दै आएको छ । उनले सबै खर्च कटाएर मासिक दुई लाख बचत गर्दै आएका छन् ।
उनले उत्पादन गरेको पाठापाठी अहिले भारतको सिक्किम, दार्जि्लिङ, खर्र्साङलगायत ठाउँका व्यापारीले खरिद गर्ने गरेका छन् । उनकाअनुसार पाठापाठी खरिद गर्न अहिले व्यापारी घरमै आउँछन् ।
उनको फार्ममा हेमयार र ड्यूर उन्नत जातका बङ्गुरको पाठापाठी उत्पादन हुन्छ । पाठापाठी प्रतिओटा रु चार हजार सम्ममा बिक्री हुने गरेको भण्डारीले बताए । यस फार्ममा दुई जनाले रोजगारी समेत पाएका छन् । सरकारले विदेशमा आफ्नो श्रम खर्चिरहेका युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
उनकाअनुसार सरकारले व्यवसाय सञ्चालन गर्न युवालाई सहुलियतमा ऋण दिनुपर्छ । पहुँच हुनेले किसानको नाममा सुविधा उपभोग गरिरहेकाले सरकारले अगुमन गरी वास्तविक किसानलाई राहत दिनुपर्ने भण्डारीको भनाइ रहेको छ ।
भण्डारीले यस वर्ष जिल्ला पशु सेवा कार्यालय झापाबाट ‘बङ्गुर व्यवसाय प्रबद्र्धन कार्यक्रम’ अन्तर्गत एक लाख रूपैयाँ अनुदान पाएका छन् ।