काठमाडौँ, २० वैशाख । एसियाली विकास बैंक (एडिबी)ले नेपालका साना सहरमा स्वच्छ खानेपानी आपूर्ति व्यवस्थापन सुधार तथा क्षमता अभिवृद्धिमा सघाउने घोषणा गरेको छ ।
एसिया प्रशान्त क्षेत्रका विकासोन्मुख १६ मुलुकका पत्रकारसँग आज जापानको याकोहामामा आयोजित पत्रकार सम्मेलनमा बैंकले नेपालमा खानेपानी आपूर्तीका लागी सहयोग गर्ने जनाएको हो ।
‘एसियामा पानीको संरक्षण र आवासयोग्य सहर निर्माणमा एडिबीको भूमिका’ विषयक पत्रकार सम्मेलनमा बैंकका नायब निर्देशक आमी लियोङ र बैककै दिगो विकास तथा जलवायु परिवर्तन विभागका प्राविधिक सल्लाहकार विजय पद्मनाभमले त्यस्तो जानकारी दिनुभएको हो ।
बैंकको स्वर्णमहोत्सवका अवसरमा भोलिदेखि जापानमा हुने विशेष समारोहमा भाग लिन पुगेका सञ्चारकर्मीमाझ पद्मनाभमले नेपालको लेखनाथ नगरपालिकामा सम्पन्न सानास्तरका खानेपानी आयोजना सञ्चालन तथा क्षमता विस्तारबाट झन्डै २७ लाख नेपाली लाभान्वित भएका बताउनुभयो ।
उहाँले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको व्यवस्थापकीय क्षमता विस्तार तथा सम्पति व्यवस्थापनमा सघाउन तालिम तथा सहकार्यका निम्ति अष्ट्रेलियाली कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको जानकारी दिनुभयो ।
उहाँले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पनि आपूर्ति व्यवस्थापन तथा क्षमता अभिवृद्धिमा लेखनाथ नगरको पद चिन्ह पछ्याउने विश्वास व्यक्त गर्नुभयो ।
नायब निर्देशक आमीले जलस्रोत व्यवस्थापन, जलाधार संरक्षण, सिँचाइ, ढल व्यवस्थापन, खानेपानी आपूर्ति, सरसफाइ, जलविद्युत् उत्पादनका क्षेत्रमा बैंकले चार अर्ब २० करोड अमेरिकी डलर लगानी गर्ने जानकारी दिनुभयो ।
उक्त रकम एसिया प्रशान्त क्षेत्रका सबै ४७ देश जहाँ पानी संरक्षणको अपरिहार्यता छ ती देशमा यस वर्ष लगानी गरिने उहाँले बताउनुभयो ।