काठमाडौं , वैशाख १४ ।
अर्थतन्त्रको उच्च र सन्तुलित वृद्धिका लागि साढे ६ प्रतिशतको मूल्य वृद्धि उपयुक्त देखिएको केन्द्रीय बैंकको एक अध्ययनले देखाएको छ ।
‘अप्टिमल रेट अफ इन्फ्लेसन अफ नेपाल’ सम्बन्धी राष्ट्र बैंकको एक अध्ययनले ‘साढे ६ प्रतिशतभन्दा कम वा बढी दुवै अवस्था उच्च आर्थिक वृद्धिका लागि प्रतिकूल हुने देखाएको हो ।
विगतका वर्षहरूमा मूल्य वृद्धिको अवस्था र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका आधारमा मुलुकका लागि साढे ६ प्रतिशतको मूल्य वृद्धि उचित (सन्तुलित) देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताउनु भयो ।
अध्ययनका अनुसार साढे ६ प्रतिशतको मूल्य वृद्धिमा आर्थिक वृद्धिदर उच्च रहने र यसले मुलुकलाई अग्रगामी दिशामा र्डोयाउनेछ । योभन्दा कम वा बढी दुवै अवस्था उच्च आर्थिक वृद्धिका लागि सहयोगी नहुने भएकाले अर्थतन्त्रमा प्रतिकूल प्रभाव पार्ने अध्ययनको निष्कर्ष छ ।
राष्ट्र बैंकले सन् १९९० देखि हालसम्मको मूल्य वृद्धि दर र आर्थिक वृद्धिदरको पारस्पिरिक सम्बन्धको आधारमा यो अध्ययन गरेको हो ।