मोरङ, बैशाख ११ ।
नेपालमा सरकारी जागिर खान प्राय मानिस आकर्षित हुने गर्छन् । त्यसको लागि कैयौंले हजारौँदेखि लाखौँ रुपैयाँसम्म घुस खुवाउन पनि पछि पर्दैन तर, मोरङका एक शिक्षकले सरकारी जागिरलाई छाडेर आफ्नै श्रम र पसिना बगाउन गाईपालनतर्फ उन्मुख भएर सरकारी जागिर खान तम्सिएकाहरूलाई दह्रो जवाफसमेत दिएका छन् ।
उनी थिए, मोरङ जिल्लाको मधुमल्ला गाविसका एक शिक्षक कृष्ण आचार्य । जसले सरकारी जागिर खोज्न धाइरहनेहरूलाई राम्रो उदाहरण दिन सफलसमेत भएका छन् । नेपाल सरकारले पशुपालन गर्ने किसानलाई अनुदान दिन थालेपछि मोरङ जिल्लाको मधुवाला गाविसका शिक्षक आचार्यले सरकारी जागिर छाडेर गाईपालन गरेका हुन् । उनी माध्यमिक तहमा कक्षा १२ सम्म नेपाली विषय पढाउँदै आएका थिए ।
उनलाई १२ वर्षसम्म काम गर्दा सरकारी जागिरबाट सामान्य तलब मात्र प्राप्त हुने आवास हुन्थ्यो । उनले सरकारी जागिरकोतर्फबाट मान र सान प्राप्त गर्न नसकेपछि २०७० सालदेखि रु. २४ हजार चार सय तलब आउने सरकारी जागिरबाट राजीनामा दिएर गाईपालन थालेको बताए । उनलाई गाईपालन गरेका सुरुका दिनहरूमा घाँसपानी, कुडो खोले बनाउन धेरै गाह्रो भएको थियो । उनका पत्नी अम्बिका र परिवारका सबै सदस्यको साथ पाएपछि आचार्यले तीन वर्ष नपुग्दै आफ्नो गोठलाई आकृति कृषि फार्ममा बदल्न सफल भए ।
अहिले उनको कृषि फारमबाट दैनिक ८० देखि ९० लिटर दूध उत्पादन गर्दै आएको छ । उनले १५ देखि २० लिटर दूध गाउँ मै बेच्छन् र बाँकी दूधलाई उनले पथरी र उर्लाबारीका डेरी उद्योगमा बिक्री गर्ने गरेका छन् । उनी दैनिक चार हजारको दूध बेच्छन् र, सम्पूर्ण खर्च कटाएर मासिक रु. ७५ देखि ८० हजार बचत गर्ने गरेका छन् । अहिले उनको गोठमा नौ वटा दुहुना गाई, १३ वटा ब्याउने गाई, सात वटा बाछाबाछी रहेका छन् ।
उनले एक ट्याक्टर गोबरको रु. तीन हजारमा बिक्री गर्छन् भने चार महिनामा छ ट्याक्टरसम्म गोबरको मल बिक्री गर्दै आएका छन् ।
अहिले उनी सरकारी जागिर खाएर भोलि सरकारी भत्ताको आशमा बस्नेहरूलाई राम्रो उदाहरण दिनुका साथसाथै उनी र आफ्नो परिवार हाँसी खुसी बिताउन पाएकोमा गर्व लागेको शिक्षक आचार्यले बताए ।