एजेन्सी, बैशाख ८ ।
भेनेजुएलामा जनआन्दोलन दबाउने उद्देश्यले सरकारले गरेकोे हिंसात्मक दमन र सरकारी प्रतिरोधात्मक क्रियाकलाप विरुद्ध नौ वटा ल्याटिन अमेरिकी राष्ट्रहरूले भत्र्सना गरेका छन् ।
नौवटा ल्याटिन अमेरिकी राष्ट्रहरू अजेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, कोस्टारिका, मेक्सिको, उरुग्वे, पाराग्वे तथा पेरुका सरकारप्रमुखहरूले भेनेजुएलाको उक्त सरकारी हिंसात्मक दमनको सशक्त निन्दा गरेका छन् ।
भेनेजुएलामा गत दुई हप्तादेखि जनआन्दोलन र सरकार विरोधी प्रदर्शनले उच्च गति लिई रहेको र सरकारले दमन पनि त्यत्तिकै तीब्र पारिँदै लगिएको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा अन्य बाह्य मुलुकहरूले जनआन्दोलनलाई सरकारी पक्षले प्रतिरोधात्मक गतिबिधि शान्तिपूर्ण बनाउन आह्वान गरे पनि दुबै पक्ष झन्–झन् उग्र बन्दै गएपछि चिन्ता व्यक्त गरिएको छ ।
भनेजुएलामा व्यापारीबाट विस्तारै आर्थिक वा अन्य रूपमा खुलेरै जनआन्दोलनलाई सघाउन थालेपछि राष्ट्रपति निकोलास मदुरो आक्रोशित भई मोटर गाडी उत्पादक रहेका अमेरिकी कम्पनीलाई बन्द गरेर कम्पनीको सम्पत्तिसमेत जफत गर्न आदेश दिएका थिए ।
त्यस्तै, जनआन्दोलनलाई सघाउन असंख्य रूपमा एसएमएस सन्देश पठाउने मोबाइल फोन सञ्चालक कम्पनी मोविस्टारलाई पनि कारबाही गरेको छ । भेनेजुएला जनआन्दोलनको क्रममा बुधबारको बिशाल जनप्रदर्शन र सरकारी दमनमा कम्तीमा तीनजना आन्दोलनकारीको मृत्यु भइसकेको छ ।