काठमाडौं, बैशाख ६ ।
नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक काठमाडौंमा भोली हुने भएको छ ।
नेपाली उत्पादनलाई अमेरिकाको बजारमा बिक्री वितरण गर्ने उद्देश्यका साथ २०६८ सालदेखि नेपाल र अमेरिकाबीच टिफा सम्झौता भएको थियो ।
नेपालमा अमेरिकाका लगानीकर्तालाई आकर्षित गर्न तथा नेपाली वस्तु र सेवाको व्यापार विस्तार गर्नमा सघाउन उक्त सम्झौता भएको हो ।
वाणिज्य मन्त्रालयका सचिव इन्द्रप्रसाद उपाध्यायको नेतृत्वमा हुने उक्त बैठकमा वाणिज्य, अर्थ, परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र उद्योग मन्त्रालयका साथै नेपाल राष्ट्र बैंक, नेपाल लगानी बोर्ड, गुणस्तर तथा तापतौल विभाग र खाद्य प्रविधि अनुसन्धान विभागका उच्च अधिकारी सहभागी हुने वाणिज्य मन्त्रालयका प्रवक्ता रविशङ्कर सैंजुले जनाएको छ ।
बैठकमा भाग लिन अमेरिकाका उच्च सरकारी अधिकारीहरू पनि राजधानीमा आइसकेका छन् ।