पोखरा, बैशाख ४ ।
कास्की जिल्ला पशुसेवा कार्यालयले युवालार्ई पशुपालनतर्फ आकर्षित गर्न चालु आर्थिक वर्षमा रु. दुई करोड ४१ लाख २१ हजार अनुदान दिने व्यवस्था गरेको छ ।
कास्की जिल्लामा स्थानीय भैँसी श्रोत केन्द्र सञ्चालन गर्दै आएको काहुँ देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई रु. ४२ लाख ७५ हजार र युवा लक्षित कार्यक्रमअन्तर्गत हेम्जा गाई फार्मलाई रु. तीन लाख ७५ हजार उपलब्ध गराउने तयारी रहेको जिल्ला पशु कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
त्यसैगरी, कास्की जिल्लामा बङ्गुर व्यावसाय प्रबद्र्धन गर्ने एक जनालाई रु. चार लाख, बिगलेटका पाँच वटा फार्मलाई रु. दुई/दुई लाख, मासुका लागि बङ्गुर पाल्ने चार वटा फार्मलाई रु. एक/एक लाख, मासुका लागि भैँसीका पाडा पाल्ने तीन वटा फार्मलाई रु. दुई/दुई लाख र नश्ल सुधारका लागि बोका पाल्ने ३० जना कृषकलाई रु. १५/१५ हजारका दरले अनुदान दिइने भएको छ ।
स–साना गाईभैँसी पालन गर्न सात वटा फार्मलाई रु. एक लाख ७० हजारको दरले, यसैगरी व्यावसायिक पशु सुधार कार्यक्रमअन्तर्गत २५ वटा गोठ सुधारका लागि रु. १०/१० हजार तथा घाँस काट्ने उपकरण खरिद गर्न, बर्खे घाँस उत्पादन गर्ने, घाँस विकास गर्ने तालिम सञ्चालन गर्नका लागि पनि अनुदानको व्यवस्था गरिएको छ ।
किसानलाई दिइने अनुदानमध्ये ७० प्रतिशत भुक्तानी भइसकेको र बाँकी काम सम्पन्न भएपछि बिल भर्पाईको कागजात आएपछि भुक्तानी दिने प्राविधिक श्रेष्ठले जानकारी दिए ।