काठमाडौँ, २९ चैत । सरकारले ७४४ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय खोल्ने भएको छ ।
नागरिकलाई वित्तीय सेवाको पहुँच दिनका लागि त्यस्ता शाखा खोल्न आवश्यक प्रक्रिया अगाडि बढाएको अर्थमन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बैंक तथा वित्तीय संस्थाको शाखा खोल्ने कार्य तत्काल अगाडि बढाउन आवश्यक निर्देशन दिनुभएको छ ।
नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै स्थानीय जनतालाई सेवा दिने गरी शाखा खोल्नका लागि आवश्यक व्यवस्था गरिएको र प्रक्रियासमेत सुरु भएको अर्थमन्त्रालयले जनाएको छ ।
त्यस्ता शाखा खोल्दा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थालाई नै प्राथमिकता दिनुपर्नेछ ।
सरकारी बैंक तथा वित्तीय संस्थाप्रति जनताको विश्वास बढाउन र सेवा प्रवाहलाई समेत सहज एवम् सरल बनाउन सरकारी बैंक तथा वित्तीय संस्था नै स्थानीय तहमा जानुपर्ने भएकाले प्रक्रिया अगाडि बढाइएको उपप्रधानमन्त्रीका सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।
बैंक तथा वित्तीय संस्था खोल्नका लागि मन्त्रालयको बैंक तथा वित्तीय क्षेत्र महाशाखाले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पनि स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्ने आवश्यक प्रक्रिया अगाडि बढाउन निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसक्नुभएको छ ।