काठमाडौँ, २८ चैत ।
मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रले करिब तीन प्रतिशत योगदान गरेको सरोकारवालाहरुले बताएका छन् ।
मुलुकमा अन्तर्राष्ट्रियस्तरबाट पर्यटन प्रवद्र्धनका लागि ‘अतिथि देवो भवः’ भन्ने मूलनाराका साथ सुरु गरिएको ‘नमस्ते अभियान’का क्रममा पर्यटन राज्य मन्त्री पर्शुराम तामाङले सो अभियानको शुभारम्भ गर्दै अभियानले नेपालको सांस्कृतिक क्षेत्र, सम्पदा तथा पर्यटन क्षेत्रका बारेमा अन्तर्राष्ट्रिय तहमा जानकारी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गैरआवासीय नेपाली सङ्घ, पर्यटन क्षेत्रमा क्रियाशील सङ्घसंस्था लगायतको सहयोगमा अभियान सुरु भएको हो ।
उहाँले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रले करिब तीन प्रतिशत योगदान गरेको बताउँदै अतिथिलाई स्वागत सत्कार गरी राम्रो सूचना उपलब्ध गराएर उनीहरुलाई प्रभाव पार्नसकेमा पर्यटकले नै देशको बारेमा प्रचार गर्ने विचार व्यक्त गर्नुभयो ।
गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्टले सो अभियान निरन्तर सञ्चालन गरिने जानकारी दिँदै सन् २०१८ सम्ममा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभयो ।
सो अभियान काठमाडौँका साथै लुम्बिनी, पोखरा र चितवनबाट सुरु भएको र आगामी दिनमा अन्य जिल्लामा विस्तार गरिनेछ । सन् २०१६ मा करिब आठलाख पर्यटक नेपाल आएको बताइएको छ ।