काठमाडौँ, २७ चैत ।
ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत्भार कटौती अन्त्यपछि मुलुकको आर्थिक क्षेत्रमा उल्लखनीय परिवर्तन भएको बताउनु भएको छ ।
नेपाली दूतावास मलेसिया र गैरआवासीय नेपाली सङ्घ(एनआरएन)ले मलेसियामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी दिनमा कोही कसैले पनि विद्युत्भार कटौती गर्न नसक्ने स्पष्ट पार्नुभएको छ ।
उहाँले आर्थिक वृद्धि दर २५ वर्षपछि सबैभन्दा धेरै हुन लागेको तथा नागरिकमा उत्साहको सञ्चार भएकाले ऊर्जा क्षेत्रमा थप लगानीका लागि आग्रह गर्नुभयो ।
सरकारले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा अगाडि सारेर योजनाबद्ध रुपमा जलविद्युत् क्षेत्रको विकासमा लागेको बताउँदै विदेशी भूमिमा सिकेको सीप र क्षमताको उचित सदुपयोग गरी राष्ट्र निर्माणको महाअभियानमा लाग्न आग्रह गर्नुभयो ।
मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्नेतले मलेसियाको सीप र प्रविधिलाई अनुसरण गरेर नेपालको विकास र आर्थिक समृद्धिको अभियान अगाडि बढाउन सकिने धारणा राख्नुभयो ।