ग्रामिण विकासका लागि बैंकिङ पहुँच अपरीहार्य

ग्रामिण विकासका लागि बैंकिङ पहुँच अपरीहार्य

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

म्याग्दी २५ चैत । वित्तीय क्षेत्रका विज्ञहरुले ग्रामिण क्षेत्र विकासका लागि वित्तीय साक्षरता बढाउनुपर्नेमा जोड दिएका छन् । बैंकिङ पहुँच विस्तार र वित्तीय साक्षरता अभिवृद्धि गर्न सके मुलुकलाई चाँडै समृद्ध बनाउन सकिने उनीहरुको भनाई छ ।

मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा संचालित ‘वित्तीय जागरण राष्ट्रिय अभियान’को म्याग्दीको दरबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मुलुकको विकासका लागि आर्थिक एजेण्डाहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

‘देशमा राजनीतिक एजेण्डा धेरै भए’, उनले भने, ‘अब आर्थिक परिवर्तनका लागि वित्तीय साक्षरताको आवश्यकता छ ।’ वित्तीय चेतनाको अभावले नै नेपाल आर्थिक रुपमा सम्पन्न हुन नसकेको उनको भनाई थियो । वित्तीय चेतना अभिवृद्धि गर्न सक्दा मुलुकमा आर्थिक मितव्ययिता कायम हुने भन्दै उनले त्यसका लागि पाठ्यक्रममै वित्तीय साक्षरतालाई समावेश गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले प्रत्येक गाउँपालिकामा कम्तिमा एउटा बैंकको पहुँच हुनुपर्नेमा जोड दिए । साथै उनले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरताका कार्यक्रमहरुमा लगानी गर्न बैंकहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा नेपाल बैंकर्स संघका सदस्य एवम् अभियानको बैंकिङ पार्टनर प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक तथा वित्तीय संस्थाको संख्या बढेपनि अपेक्षित रुपमा बैंकिङ पहुँचमा वृद्धि हुन नसकेको भन्दै विकट क्षेत्रका नागरिक वित्तीय चेतनाको अभावमा रहेको औँल्याए । उनले पनि प्राथमिक तहको पाठ्यक्रमबाटै वित्तीय साक्षरता समावेश गरिनुपर्नेमा जोड दिए । साथै बैंक तथा वित्तीय संस्था आम नागरिककै फाइदाका लागि भएकाले त्यस्ता संस्थाका फाइदा लिन सर्वसाधरणलाई उनले आह्वानसमेत गरे ।

वित्तीय जागरण राष्ट्रिय अभियानको बैंकिङ पार्टनरको रुपमा रहेको गरीमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द्र ढकालले बैंकिङ क्षेत्र समाजको विकासका लागि भएकाले बढीभन्दा बढी नागरिकहरुलाई बैंक तथा वित्तीय संस्थाले समेट्न सक्नुपर्नेमा जोड दिए ।

वित्तीय साक्षरता बढाउन सक्दा मुलसकमा वित्तीय अनुशासन, पैसाको सदुपयोग र सुरक्षाप्रति नागरिक सचेत हुने र मुलुकको आर्थिक विकासमा टेवा पुग्ने उनले बताए । उद्यमशीलतामा लाग्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाले बिना धितो समेत ऋण दिइरहेकाले कर्जा लिई त्यसको सदुपयोग गर्न उनले आग्रह पनि गरे ।

स्थानीय समाजसेवी दिलिप शेरचनले गाउँ–गाउँमा बैंकहरुको उपस्थिति रहँदा स्थानीयले आर्थिक सुरक्षाको अनुभूति गर्ने बताए । आफ्नो गाउँमा वित्तीय जागरण कार्यक्रम आएकोप्रति खुशी व्यक्त गर्दै उनले भने, ‘बैंकहरुबाट फाइदा पनि लिन सकिन्छ भन्ने बारेमा यहाँका धेरै मानिसमा ज्ञान थिएन, अब चाहिँ धेरैलाई प्रोत्साहन मिलेको मैले महशुस गरेको छु ।’

मिडिया इन्टरनेसनलका अध्यक्ष एवम् वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले आर्थिक समृद्धिका लागि मानिसमा वित्तीय चेतना हुनु आवश्यक भएकाले वित्तीय जागरण अभियान संचालन गरिरहेको जानकारी दिए ।

यसअघि रुपन्देहीको रुद्रपुर र कैलालीको अत्तरीमा अभियान चलाईसकेको जानकारी दिँदै उनले भने, ‘हामी देशभरका नागरिकलाई वित्तीय साक्षरता प्रदान गर्ने अभियानमा छौँ ।’ मुलुकमा राजनीतिक एजेण्डाभन्दा आर्थिक एजेण्डाले प्राथमिकतामा पर्नुपर्ने भन्दै उनले वित्तीय साक्षरताको आवश्यकतालाई राज्यले गम्भीर रुपमा लिनुपर्ने बताए । ‘विकट क्षेत्रमा वित्तीय चेतना अभिवृद्धि गर्नका लागि गाउँ–गाउँमा राज्यस्तरबाटै प्रभावकारी कार्यक्रमहरु चलाउनुपर्छ ।’

उनले भने– ‘हामीले चलाईरहेका कार्यक्रमहरु धेरै नागरिकका लागि फलदायि भएपनि पर्याप्त नहुन सक्छ ।’ उनले नेपालका अन्य विकट गाउँमा पनि पनि क्रमशः कार्यक्रमहरु चलाउँदै लैजाने जानकारी दिए । ‘वित्तीय जागरणकै कमीले मुलुकबाट पलायन भईरहेको युवा जनशक्तिलाई मुलुकमै उद्यमशीलतामा लाग्न प्रेरित गर्ने उद्देश्यले हामीले कार्यक्रम अघि बढाएका हौँ ।’उनले भने ।

दरबाङमा आयोजित कार्यक्रममा ३ हजारभन्दा बढीको सहभागीता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा म्याग्दीका विभिन्न बैंक तथा वित्तीय संस्थाको सहभागीता रहेको थियो । ती बैंक तथा वित्तीय संस्थाका विभिन्न चेतनामूलक स्टलहरु राखिएका थिए । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यमशीलतामा लागेका व्यक्तिहरुलाई उदाहरणका रुपमा प्रस्तुत गरी बैंक तथा वित्तीय संस्थाको महत्व र त्यसबाट लिन सकिने फाइदाबारे कार्यक्रममार्फत सर्वसाधरणलाई अवगत गराइएको थियो । त्यस्तै पैसा के हो, यसको परिचालन कसरी गर्ने, बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दाका फाइदाबारे पनि सूचनामूलक स्टलमार्फत जानकारी गराइएको छ ।

नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको कार्यक्रमलाई वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकहरुको छाता संगठन नेपाल डेभलपमेण्ट बैंकर्स एसोसियसन र लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन माइक्रोफाइनान्स बैंकर्स एसोसियसन अफ नेपालले पनि साथ दिएका छन् ।

नेपालमा अझै पनि ६० प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर रहेको र अझै पनि झण्डै २० प्रतिशत नागरिक साहू महाजनसँग नै कारोबार गरिरहेको तथ्यका बीच मिडिया इन्टरनेसनलले संचालन गरिरहेको यस कार्यक्रमले वित्तीय साक्षरता बढाउन निकै महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी