विराटनगर, २४ चैत ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले अर्थतन्त्रमा सुधार ल्याउनका लागि पुरानो मानसिकतालाई भत्काउनुपर्ने आवश्यकता औँल्याउनु भएकाे छ ।
मोरङ व्यापार सङ्घको ६२औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले मुलुकमा आर्थिक समृद्धि ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
राज्यप्रति उत्तरदायी भएर राष्ट्रिय अर्थतन्त्रको विकासका लागि नयाँ नीतिका साथ निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उहाँले अाफु कम्युनिस्ट भए पनि समाजवादको आधार तयार गर्नका लागि नयाँ ढङ्गले दुई दशकसम्म निजी क्षेत्रलाई प्रोत्साहित गरेपछि मात्र अर्थतन्त्र सवल हुन्छ भन्ने पक्षमा रहेकाे धारणा राख्नु भयाे ।
मुलुक नयाँ बजेटको तयारीमा जुटेको प्रसङ्ग उल्लेख गर्दै अर्थमन्त्री महराले भन्नुभयो – “आगामी बजेटमा भन्सार, अन्तःशुल्कका साथै विभिन्न विषयमा परम्पराभन्दा भिन्न किसिम हुनेछ ।”
विगत वर्षको तुलनामा यस वर्ष पुँजीगत खर्च बढेको जानकारी गराउँदै उहाँले चैत मसान्तसम्म खर्च नगरे बजेट जफत हुने स्पष्ट पार्नुभयो ।
प्रदेश नं १ लाई नमुना प्रदेशका रुपमा विकसित गर्नुपर्ने विषयमा जोड दिँदै उहाँले विराटनगरलाई महानगरपालिका बनाउने विषयका साथै विराटनगरको चक्रपथ निर्माण, विमानस्थलको स्तरोन्नतिलगायतका विषयमा छलफल भइरहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले अनिश्चितताको वातावरणका कारण उद्योग सञ्चालनमा समस्या भइरहेको प्रसङ्ग उल्लेख गर्दै एउटा अधिकृतस्तरका कर्मचारीले जतिखेर पनि करोडौँ लगानीको उद्योगलाई बन्द गराउन सक्ने त्रासबाट मुक्ति दिलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री महराले मोरङ व्यापार सङ्घको रु २१ हजार राशिको पुरस्कार तथा सम्मानपत्र वरिष्ठ पत्रकार अन्नतराज न्यौपानेलाई र समाजसेवी बेनीगोपाल मुन्धडालाई सम्मानपत्र प्रदान गर्नुभयो ।
मोरङ व्यापार सङ्घका अध्यक्ष एवम् सांसद पवन शारडाले प्रदेश नं १ को अर्थतन्त्रलाई गतिशील पार्नका लागि उर्वर भूमिको प्लटिङ रोक्नुपर्ने, चुरे र महाभारतको दोहन रोक्नुपर्ने, जोगवनी–किमाथान्का सडक निर्माण, विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेटमा व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
उक्त कार्यक्रममा सांसद अमन मोदी, उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, सुरेश शर्मा, उद्योगपति चण्डीराज ढकालले आगामी बजेटमा उद्योग क्षेत्रको विकासका लागि आवश्यक विषयमा आ–आफ्ना सुझाव राख्नुभएको थियो ।