काठमाडौँ, २२ चैत ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई जानकारी दिनुहुने भएको छ ।
समितिको आगामि चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम कारबाहीका बारेमा जानकारी गराउनुहुने समितिका सभापति डोरप्रसाद उपाध्यायले राससलाई बताउनुभयो ।
सभापति उपाध्यायले समितिको अघिल्लो बैठकको निर्णयअनुसार एनसेलको पूँजीगत लाभकरका विषयमा प्रधानमन्त्रीसँग नै जानकारी लिने निर्णय भएअनुसार मिति तय गरिएको हो ।
एनसेलको पुँजीगत लाभकरका विषयमा परस्पर विरोधी विषय सार्वजनिक भएपछि संसदीय समितिले प्रधानमन्त्रीको जवाफ मागेको थियो । स्वीडेनको टेलिया सोनेरा कम्पनीले सरकारलाई पूँजीगत लाभकर नतिरी मलेसियन कम्पनी एक्जियाटालाई एनसेलको स्वामित्व हस्तान्तरण गरेको थियो ।
कम्पनीका नेपाली साझेदारले रु १० अर्ब पूँजीगत लाभकर तिरेपनि टेलियाले भने रु ४३ अर्ब पुँजीगत लाभकर हालसम्म तिर्न अस्वीकार गर्दै आएको छ ।
उता अर्थ मन्त्रालयले लाभकरका विषयमा भइरहेको प्रगतिका बारेमा जानकारी गराउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको छ । अर्थसचिव शान्तराज सुवेदीले विभागका महानिर्देशक चूडामणि शर्मालाई सो निर्देशन दिनुभएको हो ।