चितवन, चैत्र १८ ।
उद्योग बाणिज्य सङ्घ चितवनद्वारा सञ्चालित गेष्ट हाउसमा सञ्चारकर्मीका लागि ५० प्रतिशत छुट दिइने भएको छ ।
नारायणी नदीको किनारमा रहेको सो गेष्ट हाउसमा एसीसहित पाँच वटा र एसीरहित ११ वटा कोठा छन् । यसअघि सो गेष्ट हाउसमा सञ्चारकर्मीलाई ३० प्रतिशत छुट दिइँदै आएको थियो ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाको नवनिर्वाचित कार्यसमिति र पार्षदका लागि आज आयोजना गरिएको बधाई तथा स्वागत कार्यक्रममा सङ्घका अध्यक्ष राजन गौतमले सो घोषणा गरेका हुन् । सोही अवसरमा उनले समाचार सङ्कलन गर्न देशका जुनसुकै कुनाबाट पनि चितवन आउने पत्रकारलाई सो सुविधा प्रदान गरिने बताए ।
पार्किङसहितको सो गेष्ट हाउसमा रहेका एसी कोठालाई एक हजार ५०० देखि एक हजार ७५० सम्म र एसी नभएका कोठालाई नौ सय भाडा लिने गरिएको छ । उक्त सुविधासँगै बाहिरी जिल्लाबाट चितवन आउने पत्रकार प्रत्यक्ष रूपमा लाभान्वित हुने पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा बताए ।