काठमाडौं, चैत्र १७ ।
नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले उद्योग मन्त्रालयले सुरु गरेको नीतिगर सुधारका कारण नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गएको बताएका छन्।
उद्योग मन्त्री नबिन्द्रराज जोशीसँग बिहीबार उद्योग मन्त्रालयमा भेट गर्दै अष्ट्रेलियन राजदूत ह्वाइटले नेपालको विकासमा अष्ट्रेलियाको सहयोग निरन्तर रहने प्रतिबद्धता जाहेर गरे। नेपालको दार्चुला जिल्लामा उत्पादित अग्र्यानिक महलाई विश्व बजारमा राम्रो रहेको भन्दै त्यसको प्रशोधनको लागि काम गर्न सरकारलाई सुझाव दिए।
भेटमा उद्योगमन्त्री जोशीले लघु उद्यम विकास कार्यक्रममा रहेको अष्ट्रेलियन सहयोगको प्रशंसा गरे। उद्यमशीलता विकास गर्ने सो कार्यक्रमले ग्रामीण क्षेत्रमा ७० हजारभन्दा बढी उद्यमी तयार पारिसकेको छ। सो कार्यक्रममा अष्ट्रेलियन सरकार र यूएनडीपीको सहयोग रहँदै आएको छ।
भेटमा मन्त्री जोशीले लगानी मैत्री वातावरण निर्माणका लागि आवश्यक कतिपय ऐन नियम ल्याईसकेको र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धि नयाँ ऐन अन्तिम चरणमा रहेको बतए। अन्तराष्ट्रिय लगानी सम्मेलनमा व्यक्त आशयपत्रहरूलाई लगानीमा परिणत गर्न सरकारले विभिन्न समिति बनाएर फलोअप गरिरहेको भन्दै मन्त्री जोशीले नीतिगत सुधारका साथै उद्योग मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभागहरूबाट प्रदान गरिने प्रशासनिक सेवालाई चुस्त दुरुस्त र पारदर्शी बनाइएको बताए।