काठमाडौँ, १२ चैत ।
ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ जलविद्युत् उत्पादनको महाअभियानमा सहभागी हुन युवाहरुलाई आह्वान गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्र को भातृ सङ्गठन योङ कम्युनिष्ट लिग काठमाडौँको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारासबै युवालाई जलविद्युत् क्षेत्रमा लगाउने लक्ष्यका साथ सरकारले अगाडि सारेको बताउनुभयो ।
ऊर्जा मन्त्रालयले तिला कर्णाली जलविद्युत् आयोजनामा सम्पूर्ण कर्णालीवासीलाई एक÷एक लाखको सेयर दिने प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उहाँले सोही योजना मुलुकभर नै अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुुभयो ।
राष्ट्र निर्माणको प्रमुख आधार जलविद्युत् नै उत्तम विकल्प भएको उल्लेख गर्दै नेपालका मेहनती, अनुशासित र कर्तव्यनिष्ट युवा शक्तिलाई विश्वासमा लिएर एकाध वर्षमा उच्च आर्थिक समृद्धि गर्ने सरकारको चाहना भएको मन्त्री शर्माले स्पष्ट पार्नुभयो ।
वैदेशिक रोजगारीमा रहेका युवालाई समेत स्वदेशमा फर्काउने एउटा मात्रै विकल्पको रुपमा जलविद्युत् आयोजना र त्यसमा गरिने लगानी भएको स्पष्ट पार्नुभयो ।
क्षमताअनुसारको काम दिने र युवा शक्तिलाई मुलुक निर्माणको अभियानमा जोड्ने एउटा मात्रै विकल्प जलविद्युत् मात्रै भएको भन्दै बुढेसकालमा पेन्सन पाउने, आर्थिक रुपमा समृद्ध हुने आधार क्रमशः तयार भएको बताउनुभयो ।
उज्यालो नेपालको अभियानले नेपाली जनतामा विश्वासको वातावरण तयार भएको भन्दै त्यसैका आधारमा स्थानीय तहको निर्वाचनमा सहभागी हुन र परिवर्तनको एजेण्डालाई विजयी गराउन लाग्नुपर्नेमा उहाँको जोड थियो ।
आर्थिक समृद्धिबिनाको राष्ट्रवादको नारा केवल हावादारी गफ मात्रै हुने भएकाले यथार्थमा आउन र मुलुकलाई समृद्धिको दिशामा लैजान तर्कसङ्गत कुरा अगाडि सार्न उहाँले नेकपा(एमाले)लाई आग्रह गर्नुभयो ।
सो अवसरमा नेकपा(माओवादी केन्द्रका नेता झक्कुुप्रसाद सुवेदीले परिवर्तनको कार्यभार पूरा गर्नका लागि आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा विजयी हुनैपर्ने धारणा राख्नुभयो ।
उहाँले माओवादी आन्दोलनले उठाएको विषय लागू हुने चरणमा रहेको र स्थानीय तहलाई दिइएको अधिकार त्यसैको एउटा स्वरुप भएको बताउनुभयो ।