काठमाडौँ, ३ चैत । सरकारले स्थानीय तहको भौतिक पूर्वाधार तयार कार्यालय सञ्चालनका लागि ७ अर्ब ४४ करोड आज निकासा गरेको छ ।
पुनःसंरचनापछि बनेको ७ सय ४४ स्थानीय तह प्रत्येकले रु एक-एक करोड पाउने गरी बीउ पुँजीका रुपमा निकासा गरिएको जानकारी उपप्रधानमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
अर्थ मन्त्रालयले स्थानीय तहमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकालाई संस्थागत विकास गर्नका लागि रकम निकासा गरेको हो ।
महानगरपालिका सहसचिव, उपमहानगर र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा अधिकृत तहको कर्मचारी काजमा पठाएर साङ्गठानिक पुनःसंरचना सम्पन्न गरिएको उहाँले बताउनु भयो ।
तहगत र आर्थिक रुपमा पुनःसंरचना सुरु भएको उल्लेख गर्दै उहाँले वित्तीय संरचनालाई पनि चाँडै अर्थ मन्त्रालयले अन्तिम रुप दिने तयारी गरेको बताउनुभयो । आगामी आवको बजेटमा त्यसलाई अझ स्पष्ट गरिने जनाइएको छ ।
महानगरपालिकादेखि गाउँपालिकासम्म प्रारम्भिक पुँजीका रुपमा मात्र बराबर रकम दिइएको उहाँले बताउनुभयो ।