डोल्पा, १ चैत । पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल आजदेखि पुनः सन्चालमा आएको छ ।
भारी हिमपातका कारण दुई फिटसम्म हिउँ जमेर हिलो भएपछि अवरुद्ध बनेको विमानस्थल आजबाट सन्चालनमा आएको भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।
मौसममा सुधार आएसँगै लगातार दुई दिनसम्म लागेको घामले बाँकी हिउँ र हिलो सुकेपछि विमानस्थल पुनःसञ्चालन भएको हो ।
हवाई सेवा अबरुद्ध भएपछि विमानस्थलमा पुगेका सयौँ यात्रु समस्यामा परेका थिए । छिटो विमानस्थल सञ्चालन गर्न जमेको हिउँ डोजरबाट हटाइएको जनाईएको छ ।
यातायातको एक मात्र साधनका रुपमा रहेको विमानस्थलमा हवाई सेवा सञ्चालन भएपछि हप्तौँदेखि विमानस्थलमै अलपत्र परेका सर्वसाधारण पालो कुर्दै गन्तव्यसम्म जान थालेका छन् ।
विमानस्थल सञ्चालन भएसँगै दैनिक उपभोग्य सामग्री समेत ढुवानी गर्न सहज भएको व्यापारीले बताएका छन् । आज मात्रै तारा एयरलायन्सले नेपालगन्जदेखि एउटा उडान भरेको छ ।