काठमाडौ २३ माघ ।
राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाले मुआब्जा वितरण गर्ने तयारी गरेको छ । पहिलो चरणमा ५ अर्ब बढीको मुआब्जा वितरणको प्रक्रिया अघि बढाएको आयोजनाले जनाएको छ ।
मुआब्जा वितरणका लागि पहिलो चरणमा रु पाँच अर्ब ५० करोड प्राप्त भएको धादिङ तथा गोरखाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आयोजना विकास समितिले कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत पहिलो चरणमा उक्त रकम प्रदान गर्न केही दिनअघि अख्तियारी दिएको थियो ।
रु दुई अर्ब २५ करोड रकम मुआब्जाका लागि प्राप्त भएको जानकारी दिँदै निवेदन दिएका प्रभावितलाई वितरणको अन्तिम तयारी गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो ।
गोरखाका घ्यालचोक, भुम्लीचोक, दर्बुङ गाविसका लागि पहिलो चरणमा मुआब्जा वितरणको प्रक्रिया सुरु गर्ने तयारी भएको छ । तीन गाविसको करिब दुई हजार बढी प्रभावितले मुआब्जा लिनुपर्ने भए पनि कमैको मात्र निवेदन परेको छ ।
प्रमुख जिल्ल अधिकारी बस्नेतले पाँच सयको हाराहारीमा मुआब्जा पाऊँ भनी प्रशासन कार्यालयमा निवेदन दर्ता भएको र ती निवेदनमाथि छानबिनको क्रम अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै वितरण सुरु गरिने उल्लेख गर्नुभयो ।
यस्तै धादिङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मुआब्जा वितरणका लागि निवेदन आउने क्रम अझै जारी रहेको बताउनुभयो । पहिलो चरणमा धादिङको सलाङ, मैदी र खरी गाविसका प्रभावितलाई मुआब्जा वितरण गर्ने तयारी गरिएको छ ।
करिब चार हजार रोपनी जमिनको मुआब्जा वितरणको प्रक्रिया अगाडि बढाउने आयोजनाको तयारी छ । गोरखा जिल्ला प्रशासन कार्यालयले गत मङ्सिर ११ गते विभिन्न ११ खण्डमा मुआब्जा वितरणको आधार तयार पारेको थियो ।
न्यूनतम रु पाँच लाख २५ हजारदेखि अधिकतम रु आठ लाख ३५ हजारसम्म मुआब्जा लिन पाउने गरी निर्णय गरिएको थियो । यस्तै धादिङ जिल्ला प्रशासन कार्यालयले पनि गत पुस १९ गते मुआब्जा वितरण मापदण्ड तय गरेको थियो ।