काठमाडौं,माघ २१ ।
नेपाल टेलिकमले माघको भोलि देखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोरजी सेवा दिने भएको छ । पोष्टपेडमा फोरजी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गर्दा टेलिकमले फोरजी सेवा दिन लागेको हो ।
काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई मात्र यो सेवा उपलब्ध हुनेछ । गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोरजी सेवा दिन सुरु गरेको थियो ।
टेलिकमले वाषिर्क उत्सवका अवसर पारेर फोरजीको प्रिपेड मार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागेको जनाएको छ । यसका लागि टेण्डर गर्ने प्रक्रिया सुरु भइसकेको टेलिकमले जनाएको छ ।
टेलिकमले ३९ करोड रुपैयाँ बराबर खर्चिएर फोरजी सेवा प्रारम्भ गरेको थियो । काठमाडौंमा फोरजीका लागि ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको थियो।
पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर(जी नेटवर्क उपलब्ध छ । १८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्ड विथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।
यसअनुसार फोरजीले अधिकतम् ३२.४ एमबीपीएस गतिको डाटा उपलब्ध गराउँछ । यसलाई १०० एमबीपीएस बनाउन टेलिकमले ५ मेगाहर्ज ब्याण्डविथ थप गर्ने तयारी गरेको छ ।
यसैबीच टेलिकमले कल रिङ ब्याक टोन (सिआरबिटी)सेवा पनि फेरि सुचारु गर्ने भएको छ । केही समय अघिदेखि बन्द रहेको सेवा वार्षिक उत्सवको अवसर पारेर भोलि बाटै यो सेवा पनि सुचारु गर्न लागेको टेलिकमले जनाएको छ ।