काठमाण्डौ, माघ १० ।
अर्थ मन्त्रालयले नेपाल औद्योगिक विकास निगम र राष्ट्रिय वाणिज्य बैँकबीच एकीकरण गर्ने कार्यलाई स्वीकृत प्रदान गरेको छ ।
स्वीकृतिलाई मन्त्रालयले अगामी मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गराउने तयारी गरेको छ । सरकारले आफू मातहतका ती दुई वित्तीय निकायलाई मर्ज गर्ने निर्णय अघिल्लो बजेट भाषणमार्फत सार्वजनिक गरेको थियो ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंकको ५२औँ वार्षिकोत्सव समारोहमा एनआइडिसी र बैकका बीच मर्ज गर्ने निर्णय अगामी मन्त्रिपरिषद्बाट अनुमोदन हुने जानकारी दिनुभयो ।
उहाँले सरकारको पूर्ण स्वामित्वमा रहेको बैंकले ग्रामीण क्षेत्रमा कर्जा प्रवाह र सङ्कलनमा थप जोड दिन आग्रह गर्दै कर्जालाई उत्पादन क्षेत्रमा लगानी बढाउन निर्देशनसमेत दिनुभयो ।
अर्थमन्त्री महराले बैंक र वित्तीय संस्था बढी मात्रामा सहर र बजारमुखी हुँदा ग्रामीण अर्थतन्त्रलाई माथि उकास्न चुनौती थपिएको समेत बताउनुभयो ।