काठमाडौ,१० माघ । काठमाडौँस्थित नागार्जुन नगरपालिका कार्यालयको आयोजनामा आगामी आर्थिक वर्षदेखि लागू हुने एकीकृत सम्पत्ति कर घरधुरी सर्वेक्षणको लगत सङ्कलनका लागि चारदिने सर्वेक्षक तालिम सोमबारदेखि सुरु भएको छ । तालिममा एड्भान्स इनोभेटिभ सर्भिसका परामर्शदाता शशिजङ्ग थापाले एकीकृत सम्पत्ति कर सङ्कलनका बारेमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिएका छन् । कार्यक्रममा विभिन्न वडामा खटिने १७ जना लगत सङ्कलकको सहभागिता रहेको छ ।
तालिम उद्घाटन शत्रमा बोल्दै नागार्जुन नगरपालिकाका प्रमुुख एवं कार्यकारी अधिकृत जगन्नाथ लामिछानेले नगरको चौतर्फी विकासका लागि एकीकृत सम्पत्ति कर प्रणाली कार्यान्वयनका दिशामा सशक्त र प्रभावकारी ढङ्गले क्रियाशील हुन कर सर्वेक्षकहरुलाई अनुरोध गरे ।
नगरपालिकाद्वारा गठित एकीकृत सम्पत्ति कर कार्यान्वयन कार्यदलका संयोजक मोहन बहादुर बस्नेतले नगरपालिकाको समुन्नति करको कार्यान्वयनमा निर्भर रहने बताउँदै कर सर्वेक्षणको जिम्मेवारी इमान्दारितापूर्वक वहन गर्न सहभागीहरुलाई आग्रह गरे ।
उद्घाटन शत्रको सञ्चालन नगरपालिकाका राजश्व शाखा प्रमुख राजेन्द्र प्रसाद गौतमले गरेका थिए ।समारोहमा नगरपालिकाका सूचना अधिकारी सिद्धार्थ श्रेष्ठ,आलेप अधिकारी सञ्जित केसी,जिन्सी शाखा प्रमुख ईश्वरी लामिछाने,सागर खत्री लगायतको उपस्थिति रहेको थियो ।