काठमाडौँ, ६ माघ । धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्रीवितरण गर्न पाइने व्यवस्था गरिएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा ११(छ) मा सरकारले चाहेमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्नसक्ने कानुनी व्यवस्था भएबमोजिम स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको मन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।
उक्त दफाबमोजिम अनिवार्य रुपमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी कारोबार गर्न दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट छुट्टै सुर्तीजन्य पदार्थको कारोबार गर्ने इजाजतपत्र लिएर छुट्टै पसलबाट मात्र बिक्री गर्नुपर्ने स्वास्थ्य मन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिनुभयो ।
सुर्तीजन्य पदार्थको कारोबार गर्न दर्ता गरी इजाजतपत्र लिन आगामी फागुन मसान्तभित्र समयसीमा तोकिएको छ । तोकिएको म्यादभित्र दर्ता नगरी तथा इजाजतपत्र नलिई आउँदो चैत १ गतेदेखि सुर्तीजन्य पदार्थको कारोबार गरेको पाइएमा उक्त ऐनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।