काठमाडौँ, २६ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले जैविक विविधतामा आएको ह्रासले सम्पूर्ण विश्व नै आक्रान्त बनेको बताउनु भएको छ ।
राजधानिमा आजदेखि सुरु भएको ‘जैविक विविधता, जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयको अन्तर्रा्ष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जैविक विविधता मानव रक्षा र जीविकोपार्जनमा अपरिहार्य रहेको बताउनु भयो ।
राष्ट्रपति भण्डारीले हालैका वर्षमा देखिएका जलवायु परिवर्तन र विश्वव्यापी उष्णता जैविक विविधता एवम् जीविकोपार्जनमा गम्भीर चुनौतीका रुपमा खडा भएको औल्याउनु भयो ।
नेपालमा साधन स्रोतको कमी भए पनि जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न प्राथमिकता दिएको भन्दै राष्ट्रपति भण्डारीको भनाई छ ।
उहाँले विश्वव्यापी रुमपा बढ्दो उष्णतामा नेपालजस्ता मुलुकको योगदान नगण्य हुँदा पनि हिउँ पग्लने, हिमताल विस्फोटनलगायत जलवायु परिवतर्नका नकारात्मक असरबाट ती मुलुक पीडित रहेको बताउनु भयो ।
नेपाल जैविक विविधतासम्बन्धी अन्तर्रा्ष्ट्रिय महासन्धिको पक्ष राष्ट्र भएको जानकारी गराउँदै उहाँले जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्नका लागि सक्रिय भूमिका खेल्न चाहेको बताउनु भएको थियो ।
सम्मेलनमा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले जलवायु परिवर्तनका असरले नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रताडित भएको धारणा राख्नुभयो ।
तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तानलगायत २० भन्दा बढी देशका करिब ४०० वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, वातावरणविद्लगायतकोे सहभागिता छ ।
सम्मेलनमा जैविक विविधता जलवायु परिवर्तनको असर, मिचाहा प्रजातिअन्तर्गतका विभिन्न वनमारा वनस्पति तथा वातावरणीय र पर्वतीय समस्याका बारेमा छलफल गरिने बताइएको छ ।
सम्मेलनमा अन्तर्रा्ष्ट्रिय तहमा खोज अनुसन्धान गरिएका करिब ३०० कार्यपत्र प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ ।