डडेल्धुरा, १९ पुस । अत्याधिक चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय ३० दिनका लागि बन्द गरिएको छ ।
पछिल्लो समय चिसोका साथै शीतलहर पनि बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको बिद्यायलयले जनाएका छन् ।
अत्यधिक चिसो र मौसममा समेत आएको परिवर्तनका कारण विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको बाल कल्याण मावि पुइलेकका प्रधानअध्यापक चन्द्रराज जोशीले बताउनुभयो ।
अत्यधिक जाडोले गर्दा कक्षा कोठामा बस्न र पढ्ने÷पढाउने वातावरणसमेत नभएकाले विद्यालय बन्द गर्नु परेको प्रधानअध्यापक जोशीको भनाइ छ ।
चिसोले गर्दा जिल्लाका पहाडी भेगका सम्पूर्ण सरकारी विद्यालयमा माघ १५ गतेसम्मका लागि हिउँदे बिदा गरिएको हो ।
विद्यार्थी लामो दूरी हिँडेर आउनुपर्ने, धेरैजसो गरिब बालबालिकाले परिस्थिति अनुरुप न्यानो लुगासमेत लगाउन नसक्ने हुँदा उनीहरुमा रुघाखोकी, कोल्ड डायरिया, निमोनियाजस्ता समास्या देखिने भएकाले हिउँदे बिदा दिनुपर्ने भएको हो ।
चिसोमा बालबालिकालाई पढ्न समस्या हुने र पढाइ पनि प्रभावकारी नहुने भएकाले एक महिनाजति विद्यालय बन्द गर्नु पर्ने भएको सहश्रलिङ मावि चमडाका प्रधानअध्यापक पदमबहादुर ऐरले बताउनुभयो ।