काठमाडौ ९ पौष ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राज्यले उद्योगी व्यवसायीको संरक्षण गर्ने नीति लिएको बताउनु भएको छ । उहाँले राज्य र व्यवसायीबीच केही नीतिगत रुपमा टकराव उत्पन्न भएपनि सरकारले विभेद नगर्ने स्पष्ट पार्नुभयो ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघको ११ औं साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै अर्थमन्त्री महराले व्यवसाय सञ्चालनमा समस्या भए नीतिगत रुपमै समस्याको समाधान गर्न सरकार तयार रहेको बताउनु भयो ।
राज्यले बनाएका नीति समय अनुसार संसोधन र परिमार्जन गरेर आम व्यवसायीको हितमा काम गर्न सरकार तयार रहेको मन्त्री महराको भनाई छ ।
कार्यक्रममा महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठले समय अनुसार राज्यका नीतिहरु संसोधन नहुँदा आफूहरुलाई व्यवसाय सञ्चालनमा समस्या परेको गुनासो राख्नुभयो ।
सवारी व्यवस्थापन ऐन २०४९ मा भएका कतिपय प्रावधनले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको श्रेष्ठको भनाई छ ।
गत वर्ष नेपाल, भारत, बंगालादेश र भुटानका यातायात मन्त्रीले समान किसिमले मोटर यातायात सञ्चालन गर्ने गरी गरेको सहमतिले नेपालको यातायात क्षेत्र तहस नहस हुने भन्दै तत्काल खारेज गर्न पनि श्रेष्ठले माग गर्नुभयो ।