काठमाडौ १२ कार्तिक ।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा विगतमा भएका सन्धि–सम्झौता कार्यान्वयनमा आफूले जोड दिएको बताउनु भएको छ ।
नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी भइ आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँगको कुराकानीमा उहाँले यस्तो बताउनु भएको हो ।
बैठकमा दुई देशबीचको सम्बन्ध र समग्र सहयोगका बारेमा पनि समीक्षा भएको उहाँले बताउनु भयो । मन्त्री महतले नेपालको पर्यटन प्रवद्र्धन गर्न भारत सकारात्मक रहेको टिप्पणी समेत गर्नुभएको छ ।
केही कानुनी प्रावधान परिमार्जन गरी विद्युत् व्यापारलाई सहजीकरण गर्ने बारेमा पनि बैठकमा छलफल भएको परराष्ट्रमन्त्री महतले बताउनु भयो ।
यस्तै देशबीचको सीमा थप व्यवस्थित गर्ने, बाढीप्रभावित क्षेत्रको दुईपक्षीय संयन्त्रद्वारा अनुगमन गर्नेबारे लगायतका विषयमा पनि दुबै देश सकारात्मक रहेको. उहाँको भनाई छ ।
बैठकमा महाकाली सडक र सिँचाइको डीपीआर छिटो तयार गर्ने, हुलाकीसडकको पहिलो चरणको काम छिट्टै सकाइ दोस्रो चरणको काम सुरु गर्ने सहमति पनि भएको बताइएको छ ।