काठमान्डौ कात्तिक ११। नेपाल भारत संयुक्त आयोगको परराष्टमन्त्रीस्तरीय बैठक आज भारतको नयाँ दिल्लीमा सुरु हुदै छ ।
नेपालका तर्फबाट परराष्टमन्त्री डा. प्रकाशशरण महत र भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले बैठकको प्रतिनिधित्व गर्दै हुनुहन्छ । सोही बैठकमा सहभागी हुन परराष्टमन्त्री डा महत हिजो भारत जानु भएको हो । आजको बैठकमा दुवै देशका अर्थ वाणिज्य, उद्योग जलश्रोत उर्जा मन्त्रालयका अधिकारीहरु सहभागी हुने बताइएको छ ।
बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै सीमा विवाद एवं सीमाको व्यवस्थापन, व्यापार र वाणिज्य, उर्जा एवं जलश्रोत तथा संस्कृति तथा सञ्चार लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणका क्रममा तथा विगत देखिकै नेपाल–भारतबीचका विभिन्न सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत् समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
आफूले नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि उक्त बैठकमा कुरा उठाउने मन्त्री डा. महतले बताउनु भएको छ ।
यस अघि बैठकको एजेन्डा तय गर्न दुइ देश विचको परराष्ट सचिव स्तरीय बैठक हिजो बसेको थियो । सो बैठकमा सहभागी भएर मन्त्री महत भोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।