काठमाडौं, कार्तिक ९।
प्रधानमन्त्री पुष्पकमल दाहालले विकास निर्माणका कामलाई सरकारले प्राथमिकतामा राखेपनि अपेक्षाकृत रुपमा सफलता हासिल गर्न नसकिएको बताउनु भएको छ ।
सिरहाको सर्वदलीय एवं सर्वपक्षीय प्रतिनिधि मण्डलसँग आज सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री दाहालले संबिधान कार्यान्वयन अहिलेको आवश्यत्ता र चुनौति भएकाले त्यसलाई सफल बनाउन आफु अग्रसर रहेको बताउनु भयो ।
दोस्रो संबिधानसभाको निर्वाचनमा सिरहाबाट नै विजयी हुनुभएका दाहालले निर्वाचनमा अपेक्षाकृत परिणाम नआएकाले आफूले पनि प्रतिवद्धता जनाएअनुरुप विकास निर्माणमा सहयोग गर्न नसकेको बताउनु भएको थियो ।
प्रधानमन्त्री दाहालले निर्वाचनलगत्तै आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले सरकारसँग समन्वय गरेर सो निर्वाचन क्षेत्रको विकासमा ध्यान दिएपनि खासै प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभयो ।
टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले कृषि क्याम्पस, मेडिकल कलेज, सडक, खानेपानी लगायतका विषयलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
विभिन्न मन्त्रालयसँग समन्वय गरेर सिरहा जिल्लाको समग्र विकासमा बजेट बिनियोजन गर्ने आश्वासन पनि दिनुभएको छ ।