काठमाडौं, ९ कार्तिक । भारतस्थित नेपाली राजदूतावासको जमिनमुनिबाट मेट्रो रेल सञ्चालन गर्न नेपाल सरकारले दिएको अनुमतिका बिषयमा संसदीय समितिले चासो देखाएको छ ।
सिंहदरबारमा मंगलबार बसेको व्यवस्थापिका–संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतस्थित नेपाली राजदूतावासको जमिनमुनिबाट मेट्रो रेल सञ्चालन गर्न नेपाल सरकारले दिएको अनुमतिका सम्बन्धमा सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।
बैठकले नेपाल–भारत प्रबुद्ध समूहको गठन गर्दा उक्त समूहलाई प्रदान गरिएको कार्यादेशसहित कार्यप्रगतिको लिखित विवरण उपलब्ध गराउन पनि पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छ ।
बैठकले उक्त विषयका लागि परराष्ट्र मन्त्रालयको स्पष्ट धारणा आवश्यक भएकाले आगामी बैठकमा अनिवार्य उपस्थित हुनसमेत निर्देशन दिइएको छ । बैठकमा समिति सदस्यहरुले मेट्रो रेल सञ्चालन गर्न दिएको कागजात त्रुटिपूर्ण रहेको भन्दै आपत्ती जनाएका थिए । त्यस्तै बैठकमा प्रबुद्ध समूहका संयोजक डा भेषबहादुर थापालगायत सदस्यले समूहको कार्यप्रगतिका बारेमा जानकारी गराउनुभएको थियो ।