काठमाडौं , कार्तिक ९ ।
बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा सञ्चालन भएको क्यामब्रियन गस्ती (पट्रोलिङ) प्रतियोगितामा नेपाली सेना तेस्रो भएको छ ।
नेपाल सहित २० देशको सहभागिता रहेको प्रतियोगितामा १२० सैनिक टोली सहभागी रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका तर्फबाट उपसेनानी प्रज्वल खनालको नेतृत्वमा आठ सदस्यीय टोली सहभागी थियो ।
संसारकै सेनाका लागि कठिन र चुनौतीपूर्ण मानिएको पट्रोल बेलायती सेनाको टेरिटोरियल आर्मीले ५५ वर्षअघि सुरु गरेको हो ।
प्रतियोगिताका क्रममा दलदले हिलोयुक्त भूमिमा ४८ घन्टाको समयसीमा भित्र ८० किमी क्षेत्रको गस्ती गर्नुका साथै विभिन्न सैनिक अभ्यास समेत समावेश गरिएको छ ।
सो प्रतियोगितामा नेपाली सेनाले विश्वमै व्यावसायिक, अनुशासित, कर्तव्यपरायण र साहसिक सेनाका रुपमा ख्याति कमाउँदै आएको छ ।
पेसागत प्रतियोगिता २०७३ अभ्यासमा प्रथम भएको श्री दुर्गाबक्स गणलाई उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली सेनाले छनोट गरी पठाएको थियो ।
असोजको तेस्रो साताबाट प्रारम्भ भई कात्तिकको पहिलो सातासम्म चलेको प्रतियोगीतामा सहभागी नेपाली टोली स्वदेश फर्किसकेको छ ।