काठमान्डौ कात्तिक ८।
काठमाडौं उपत्यकाका भूकम्प प्रभावितलाई पुनरस्थापनका लागि अनुदान वितरण गर्न आज देखि अनुदान सम्झौता कार्य सुरु हुने भएको छ ।
तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा ९० हजार ८ सय ८८ लाभग्राहीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरणका लागि स्वीकृति दिएको छ । उपत्यकाका ३ सय ६९ वडामा आज देखि अनुदान सम्झौता सुरु गर्न जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइलाई परिपत्र गरिएको छ ।
सबै वडामा एकैपटक काम सुरु हुने भएकाले छिटो अनुदान सम्झौता सकिइ पहिलो किस्ताको ५० हजार रुपैयाँ वितरण गरिने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेशराज वस्तीले जानकारी दिनुभयो ।
केन्द्रीय तथ्याङ्क विभागले उपत्यकाका तीन जिल्लामा लक्षित नमुना (भेरिफिकेसन मोडेल) बाट भूकम्प प्रभावितको सूची सङ्कलन गरेको थियो । विभागले एक लाख १५ हजार लाभग्राहीको सूची प्राधिकरणमा पठाए पनि ९० हजार ८ सय ८८ मात्र स्वीकृत भएको मन्त्रालयले जनाएको छ ।