काठमान्डौ कात्तिक ७ ।
चितवनको रत्ननगरमा फैलिएको डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन प्रक्रिया सुरु गरिएको छ ।
रत्ननगरबाट ३० वटा नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको र थप ५० वटा नमुना अहिले सङ्कलन भइरहेको बताइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले भरतपुर अस्पतालबाट २५ र रत्ननगर बकुलहर अस्पतालबाट २५ वटा नमुना सङ्कलन गरेर लगी डेङ्गुको प्रकार छुट्याउने जनाइएको छ ।
मुख्यगरी डेङ्गुका चार प्रकार भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनु भयो ।
नेपालमा चारवटै प्रकारका डेङ्गु पाइएको भए पनि यसपालि फैलिएको डेङ्गु कुन प्रकारको हो भनेर पत्ता लगाउन परीक्षणका लागि नमुना सङ्कलन गरिएको इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले बताउनु भयो ।
चितवनमा गत भदौ देखि अहिलेसम्म दुई सय ७२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । दुई सय २२ जना भने रत्ननगर नगरपालिकाका डेङ्गुका बिरामी रहेका छन् ।
नेपालमा अहिलेसम्म १२ जिल्लामा डेङ्गु देखिएकामा तीन सय चार जनामा सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।