काठमाण्डौ ,६ कार्तिक ।
काठमाडौँ उपत्यकाका बिभिन्न नदीहरुको आजपनि सरसफाई गरिएको छ । वाग्मती सफाइको १८० औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघि र विश्वरुपा मन्दिर परिसरमा सफाइ सम्पन्न भयो ।
सो क्षेत्रबाट आज मात्रै सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
उता रुद्रमती सफाइको १३९ औँ हप्तामा आज रातोपुल–सेतोपुल र रुद्रनगर–रातोपुलमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो ।
सफाइमा वातावरण संरक्षण अभियान, महानगरपालिकाका ९ र ३३ नं वडा कार्यालयका कर्मचारी, नेपाल प्रहरी, वेलकेयर अस्पताल लगायत संस्थाको सहभागिता थियो ।
समाजले गौशाला–कमलपोखरी सडक फोहरमुक्त घोषणा गरी दैनिक अनुगमन पनि गरिरहेको छ ।
यस्तै आजै कालीमाटी तरकारी बजार र टेकुपुलस्थित धौखेल चौरमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो । विष्णुमती सफाइको १३१ औँ हप्तामा आज सो क्षेत्रमा सफाई गरिएको हो ।
उता कार्यविनायक नगरपालिका वडा नं २ महतोमार्गमा सफाइ गरी एक मेट्रिक टन निकालिएको छ । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेप्से म्याक प्रालिलगायत संस्थाको सहभागिता थियो ।
विसं २०७० जेठ ४ गतेदेखि निरन्तर रुपमा वाग्मती र यसका सहायक नदीको सफाइ हुँदै आएको छ । हालसम्म प्रमुख नदी सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।