माथिल्लो तामाकोसी निर्माणको नयाँ योजना सार्वजनिक , ०७५ असारसम्ममा काम सकिने

माथिल्लो तामाकोसी निर्माणको नयाँ योजना सार्वजनिक , ०७५ असारसम्ममा काम सकिने

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाण्डौ ,५ कार्तिक ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्व निर्धारित तालिकाभन्दा दुई वर्ष ढिला गरी २०७५ असारसम्ममा पूरा हुने भएको छ ।

भूकम्प र नाकाबन्दीले निर्माण रोकिँदा आयोजना अनिश्चित बनेको थियो ।
नयाँ योजना अनुसार अब आयोजनाको काम आउँदो ०७५ को असारसम्म सकिने छ । भूकम्पले पहुँचमार्गमा सडकमा ठूलो क्षति पु¥याएपछि बाँधस्थलको काम प्रभावित भएको थियो ।

दोलखा बजारबाट लामाबगरसम्मको ६८ किलोमिटर पहुँचमार्ग मध्ये भोर्ले र काब्रे भीरमा सबैभन्दा बढी सडक क्षति भएको थियो । सबै सडक सुधार भए पनि काब्रे भीरमा ३ महिनादेखि ३ सय ६० मिटर सुरुङमार्ग निर्माणको काम जारी छ ।

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार बिहीबार बिहानसम्म २२५ मिटर सुरुङमार्गको काम पूरा भएको छ । सुरुङ मार्गको काम पूरा भएपछि लामाबगरसम्मको आवतजावत सुचारु हुनेछ ।
पहुँचमार्ग सुचारु भएपछि हेडरेस सुरुङको काम भैंसे खण्डबाट र हेड बक्सको कामसमेत सुचारु हुनेछ । हेड बक्समा बाँध, इन्टेक, पानी थिग्राउने पोखरीलगायतको संरचना पर्छ । हेड रेस सुरुङको ३ किलोमिटरमा डेढ वर्षयता पानी जमेको छ । जमेको पानी फाल्न पनि ३ महिना बढी लाग्ने आयोजनाको अनुमान छ ।

आयोजनाको गाँगरडाँडाबाट पनि हेडरेस सुरुङ निर्माणको तयारी भएको छ । ठाडो सुरुङको शीरबिन्दुसम्म पुग्ने ३ किलोमिटर पहुँचमार्ग पनि क्षतविक्षत भएकाले वैकल्पिक मार्ग बनाएर त्यहाँसम्म गाडी पुग्ने व्यवस्था भएको छ ।

आयोजनाको सिभिल निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेसनले सुरुङ निर्माणका लागि रक बोल्डको काम सुरु गरेको उनले बताए ।

दुईवटा ठाडो सुरुङमध्ये ३ सय ६० मिटरको तल्लो २ वर्ष अघि नै पूरा भएको छ । माथिल्लो ३ सय १० मिटरमध्ये १ तलबाट १ सय ४० मिटर पूरा भएको छ ।

बाँकी माथिबाट खन्नुपर्ने अवस्था भएको उनले बताए । आयोजनाको विद्युत गृहको काम र प्रसारण लाइनको काम भूकम्प र नाकाबन्दीले ८ महिना रोकिए पनि त्यसपछि निरन्तर जारी छ ।

आयोजना सम्पन्न भएपछि वर्षातमा हुँदै आएको लोडसेडिङ हट्नेछ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको सिभिल निर्माणको काम ०६७ भदौदेखि सुरु भएको हो ।
प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आगामी २०७३ साउनदेखि पहिलो इकाईबाट बिजुली उत्पादन गर्ने नयाँ मिति तय गरेको थियो ।

निर्माण अवधिको ब्याजबाहेक आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ (४४ करोड १० लाख अमेरिकी डलर) छ । यो लागत १ डलर बराबर ८० रुपैयाँलाई आधार मानेर तय गरिएको हो ।

हाल डलरको भाउ बढेर १०७ रुपैयाँसम्म पुगेको र १ वर्षजति समय काम ठप्प भएकाले र बजार मूल्यको कारण थप ८ अर्बभन्दा बढी लागत बढ्ने सम्भावना छ ।

माथिल्लो तामाकोसीको अर्को आयोजना रोल्वालिङको पानी तामाकोसीमा मिसाएर सुख्खायामममा बिजुली उत्पादन गर्न रोल्वालिङ डाइभर्सन आयोजनाको विस्तृत इन्जिनिरिङको काम भइरहेको छ ।

यसका लागि जर्मनको ल्याह्यमेयर इन्टरनेसनलले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) गरिरहेको छ । तामाकोसीको परामर्शदातमा ल्याह्यमेयर नै हो । उसैले तामाकोसीको विस्तृत इन्जिनियरिङ तयार गरेको हो । आयोजनामा करिब साढे २ अर्ब रुपैयाँ लाग्ने (२ करोड ६० लाख डलर) लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

६ किलोमिटर लामो सुरुङ खनेर रोल्वालिङको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । योसमेत गरी माथिल्लो तामाकोसीबाट वार्षिक २ अर्ब ४५ करोड ६० लाख युनिट बिजुली उत्पादन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी