एजेन्सी ,२६ असोज ।
विश्व कप २०१८ को दक्षिण अमेरिकी क्षेत्रको छनौट चरण अन्तर्गत ब्राजिलले भेनेजुएलालाई २–० ले हराएर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आज बिहान सम्पन्न खेलमा ब्राजिलको जितका लागी गाब्रिएल जिसस र विलिएनले गोल गरेका थिए । आठौं मिनेटमा नै जिससले गोल गर्दै ब्राजिललाई सुरुवाति अग्रता दिलाए ।
पहिलो हाफमा १–० ले पछि परेको भेनेजुएललाले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेको थियो । तर ५३ औं मिनेटमा विलियनले गोल गर्दै ब्राजिललको अग्रता दोब्बर पारे । ब्राजिल नेइमार बिना नै खेलेको थियो ।
जितपछि शीर्ष स्थानमा उक्लिएको ब्राजिलको १० खेलबाट २१ अंक भएको छ । ब्राजिलले उरुग्वेलाई उछिनेर शीर्ष स्थानमा उक्लिएको हो ।
आजै बिहान भएको अर्को खेलमा उरुग्वे पाराग्वेसँग २–२ को बराबरीमा रोकिएर दोस्रो स्थानमा झर्यो । उसको १० खेलबाट २० अंक छ ।
पाराग्वेसँग १–० ले हारेको अर्जे्न्टिना भने १६ अंकसहित पाँचौं स्थानमा छ ।
यस्तै आजै भएको दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गतकै अर्को खेलमा चिली विजयी भएको छ ।
घरेलु मैदानमा भएको खेलमा चिलीले पेरुलाई २–१ ले हराएको हो । चिलीका जितमा दुवै गोल अटुरो भिडालले गरे । १० औं मिनेटमा भिडालले गोल गर्दै चिलीलाई सुरुवाति अग्रता दिलाए ।
पहिलो हाफमा १–० ले पछि परेको पेरुका लागि ७६ औं मिनेटमा एडिसन फ्लोरिसले बराबरी गोल फर्काए । तर ८५ औं मिनेटमा भिडालले व्यक्तिगत दोस्रो गोल गर्दै २–१ को जित दिलाए ।
जितपछि चिलीको १० खेलबाट १४ अंक भएको छ । उ तालिकाको सातौं स्थानमा छ ।