काठमाडौं, असोज २१ ।
विश्वकप फुटबल छनोटअन्तर्गत् दक्षिण अमेरिकी समूहको खेलमा ब्राजिल, उरुग्वे र इक्वेडर विजयी भएका छन् ।
ब्राजिललेआफ्नै मैदानमा सम्पन्न खेलमा बोलिभियालाई ५–० ले हरायो । ब्राजिलका लागि नेइमार, कौटिन्हो, लुइस, जिसस र फर्मिन्होले एक–एक गोल गरे ।
यसैगरी, दक्षिण अमेरिकी समूहकै अर्को खेलमा पेरुले अर्जे्न्टिनालाई २–२ गोलको बराबरीमा रोकेको छ ।
लिओनल मेसीबिना मैदानमा उत्रिएको अर्जे्न्टिनाले दुईपटक अग्रता लिएर पनि बराबरीमै चित्त बुझाएको हो ।
उता, इक्वेडरमा भएको खेलमा घरेलु टोलीले चिलीलाई ३–० ले हरायो ।
खेलमा इक्वेडरलाई विजयी गराउन भ्यालेन्सिया, रामिरेज र काइसेडोले एक–एक गोल गरे ।
दक्षिण अमेरिकी समूहकै अर्को खेलमा उरुग्वेले भेनेजुएलालाई उसैको मैदानमा ३–० ले पाखा लगायो ।
उरुग्वेका लागि काभानीले दुई गोल गरे भने लोदेरियोले एक गोल गरे । जितसँगै उरुग्वेले दक्षिण अमेरिकी समूहको विश्वकप छनोट अंकतालिकामा अग्रता लिएको छ । ९ खेलबाट उसको १९ अंक भएको छ ।
विश्वकप छनोटकै अर्को खेलमा पाराग्वेलाई कोलम्बियाले १–० ले हराएको छ ।
पाराग्वेको मैदानमा भएको खेलमा पाहुना टोली कोलम्बियालाई विजयी गराउन कार्डोनाले ९०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।