एजेन्सी असोज २१ ।
विश्वकप छनौट फुटबल खेलमा उरुग्वेले भेनेजुएलामाथि सहज जित हात पारेको छ । आज विहान भएको खेलमा उरग्वेले भेनेजुएलालाई ३–० को गोल अन्तरले हराएको हो ।
उरुग्वेका लागि लुइस स्वरेजको पासमा २९ औं मिनेटमा लोडेरोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै काभानीले उरुग्वेको अग्रता दोब्बर पारे । खेलको ७९ औं मिनेटमा स्वरेजको पासमा नै काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई ३–० को जित दिलाएका हुन् ।
यसैविच छनोट खेल अन्तरगत कै गएराति भएको खेलहमा अष्ट्रिया र वेल्स तथा स्पेन र इटालीले अंक बाडेका छन् ।
युरोपियन महादेश अन्तर्गत समूह डिमा रहेका अष्ट्रिया र वेल्सले २ – २ को बराबरीमा अंक बाडेका हुन् ।
जोय एलेनले २२ औं मिनेटमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएपनि त्यसको ६ मिनेटमै अष्ट्रियाका मार्को आर्नाटोभिकले बराबरी गोल फर्काए ।
४६ औं मिनेटमा वेल्सका केभिन विमरले गोल गर्दै फेरि वेल्सलाई अग्रता दिलाए । तर दोश्रो हाफको तेश्रो मिनेटमै अष्ट्रियाका आर्नाटोभिकले नै टीमका लागि दोस्रो गोल गर्दै खेल बराबरी बनाए ।
यससँगै समूह डि मा रहेको वेल्स, अष्ट्रिया, सर्विया र रिपब्लिक अफ आयरल्याण्डको चारचार अंक भएको छ । तर गोल अन्तरका आधारमा वेल्स पहिलो, सर्विया दोस्रो, अष्ट्रिया तेस्रो र आयरल्याण्ड चौथो स्थानमा छन् ।
यस्तै छनोटको अन्तर्गतको गएराति भएको अर्काे खेलमा स्पेन र इटालीबिचको खेल बराबरीमा रोकिएको छ । युरोपियन महादेश अन्तर्गत समूह जि मा रहेका यी दुई देशले १ – १ गोल गर्दै अंक बाँडेका हुन् ।
पहिलो हाफसम्म गोलरहित बराबरीमा खेल रोकिएको थियो । दोस्रो हाफको ५५ औं मिनेटमा मचिन पेरेजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
८२ औं मिनेटमा इटालीका डि रोसीले गोल गर्दै खेल बराबरी बनाए । दुई दुई खेल खेलेका इटाली र स्पेनको समान चार अंक भएको छ । यसै समूहमा रहेको अल्बानिया ६ अंकका साथ पहिलो स्थानमा छ ।