काठमाडौं, असोज ८ ।
राजधानीमा आजबाट सुरु भएको घरेलु २०–२० क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपीएल)को पहिलो खेल स्थगित भएको छ ।
कर्षाका कारण कान्तिपुर गोर्खाज र विशाल वारियर्सबीचको खेल स्थगित भएको हो । आज बसन्त रेग्मीको कप्तानीमा रहेको गोर्खाज र पारस खड्काले नेतृत्व गरेको वारियर्सबीच खेल हुने तय भएको थियो ।
तर, लगातारको वर्षाका कारण खेल स्थगित भएपछि दुबै टोलीले १–१ अंक बाँडेका छन् ।
‘राउन्ड रोबिन लिग’का आधारमा सन्चालन हुने प्रतियोगीतामा ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । असोज १७ गतेसम्म चल्ने ईपिएल जोहरा स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा सुरु भएको हो ।
सहभागी टोलीमा पञ्चकन्या तेज , विशाल वारियर्स , जगदम्बा राइनोज , कलर्स एक्स फ्याक्टर्स, कान्तिपुर गोर्खाज तथा सगरमाथा लिजेन्ड्स रहेका छन् ।
प्रतियोगिताअन्तर्गत् आइतबार पञ्चकन्या तेज र जगदम्बा राइनोज तथा कान्तिपुर गोर्खाज र सगरमाथा लिजेन्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।