गोरखा, ४ असोज ।
बेलायती राजकुमार ह्यारीले श्रमदान गरेको उत्तरी गोरखाको लापु–३ लापुबेँसीस्थित प्रभातकिरण माध्यमिक विद्यालय पुनर्निर्माण हुँदाहुँदै पढाई सञ्चालन गरिएको छ ।
‘पानी परेपछि टहरोमा पठनपाठन गर्न गाह्रो भो’ प्रध्यानाध्यापक जीतबहादुर गुरुङले भन्नुभयो – ‘भवन पुनर्निर्माण भइनसकेपनि नियमित पठनपाठन सुरु गरेका छौँ ।’ भवनमा रङ लगाउन बाँकी छ ।
ह्यारीले श्रमदान गरेको विद्यालय भवन पुनर्निर्माणको काम झण्डै ९० प्रतिशत सम्पन्न भएको विद्यालयले जनाएको छ ।
नेपालमा आफ्नो ६ दिने औपचारिक भ्रमण सकेपछि राजकुमार ह्यारीसहितको टोली स्कुल पुनर्निर्माणमा सघाउन भन्दै गत चैत १० गते लापुबेँसी पुग्नुभएको थियो ।
लापुबेँसीमा ६ दिनको बसाइमा ह्यारीले डोकोमा ढुङ्गा र काठ बाकेर विद्यालय भवन पुनर्निर्माणमा सहयोग गर्नुभएको थियो ।
ह्यारीसहितको १८ जनाको टोलीले विद्यालयको १२ कोठे भवन पुनर्निर्माणमा श्रमदान गरेका हुन् ।