एजेन्सी ,२५ भदौ ।
ब्राजिलको रियो दि जेनेरियोमा जारी पाराओलम्पिकमा काजकस्तानकी ५० वर्षीया पौडी खेलाडी जुल्फिया गाबिदुलिनाले स्वर्णपदक जितेकी छन् ।
५० वर्षीया जुल्फियाले एक सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी हुन् । उनले ४३ दशमलव २२ सेकेन्डमा दुरी पार गरेर नयाँ विश्व कीर्तिमान बनाइन् ।
उको जित सँगै काजकस्तानलाई पाराओलम्पिकमा इतिहासमै पहिलोपटक स्वर्ण प्राप्त भएको छ । खुट्टा नभएकी जुल्फिया यसअघि ह्विलचेयर धाविका थिइन् । उनले ३० वर्षको उमेरपछिमात्र पौडी सुरु गरेकी हुन् ।
यसैबीच , ४९ पदक सहित चीन पाराओलम्पिकको पदक तालिकामा शीर्ष स्थानमा कायमै छ । उसले अहिलेसम्म २० स्वर्ण, १७ रजत र १२ कास्य हात पारेको छ ।
त्यसैगरी, दोस्रो स्थानमा रहेको ग्रेट ब्रिटेनले १२ स्वर्ण, ६ रजत र ९ कास्य जितेको छ भने तेस्रो स्थानमा रहेको युक्रेनले ७ स्वर्ण, ६ रजत र १३ कास्यसहित २६ पदक जितेको छ ।
त्यसैगरी, तीन स्वर्ण, ८ रजत र ३ कास्यसहित १४ पदक जितेको अमेरिका चौथो, ३ स्वर्ण, ६ रजत र २ कास्य गरी ११ पदक जितेको ब्राजिल पाँचौं र ३ स्वर्ण, २ रजत र ६ कास्यसहित ११ पदकसहित अस्ट्रेलिया छैटौं स्थानमा छ ।
